रास्वपा महाधिवेशन: ‘जान्नेलाई छान्न’ सकेन, संस्थापन नेता नै छैनन् सन्तुष्ट
देश बनाउन आएको पार्टीको महाधिवेशन भद्रगोल

काठमाडौं । देश बनाउने भन्दै बहुमतसहित सरकारमा आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अहिले आफ्नै महाधिवेशन विवादरहित बनाउन हम्मे–हम्मे परेको छ ।
महाधिवेशन प्रतिनिधि छनोट, परिचयपत्र वितरण, नामावली अद्यावधिक, उम्मेदवारी दर्तालगायत विषयमा नेतृत्वको ध्यान पुग्न नसक्दा महाधिवेशन नै भद्रगोल देखिएको छ ।
भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम क्रमबद्ध नभएको, विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई एउटै सूचीमा राखिएको तथा मतदान प्रणालीले प्रतिनिधिहरूलाई अनिवार्य रूपमा भोट हाल्न बाध्य पारेको गुनासो पनि छ ।
सुरुवातमा भोटिङ मेसिनमा समस्या भएको भनिए पनि वास्तविक समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ । यसमा उम्मेदवार मात्रै होइन, पार्टीका संस्थापक सदस्य तथा सांसदहरूले समेत प्रश्न उठाएका छन् । रास्वपा सांसद ज्वाला संग्रौला (टीका) ले पार्टीको महाधिवेशनको प्रक्रियामा असन्तुष्टि जनाइन् ।
उनले आफ्नो नाममा राजनीति भएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएको बताइन् । ‘नाममा समेत राजनीति गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु,’ संग्रौलाले लेखेकी छन् ।
त्यस्तै, सांसद आशिका तामाङले पनि मनोनयनमा आफ्नो क्रम संख्या फरक परेकोमा प्रश्न गरिन् । ‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा के को आधारमा १०६ नम्बरमा पुग्यो ?,’ उनले प्रश्न गरेकी छन् ।
त्यस्तै, सांसद राजीव खत्रीले पनि आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाए । ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । ‘नो भोटको धज्जी’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । त्यस्तै, सांसद गणेश कार्की र सांसद धनञ्जय रेग्मीले पनि असन्तुष्टि पोखेका छन् ।
रेग्मीले वर्तमान नेतृत्वमाथि तीव्र प्रहार गर्दै पार्टीले देश चलाउने नैतिक र संगठनात्मक क्षमता गुमाउँदै गएको आरोप लगाउन भ्याए । यसरी प्रतिनिधि मात्रै होइन सांसदहरूले समेत प्रश्न उठाए पछि पार्टीले भने कमजोरी स्वीकार गरेको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले संचारकर्मीहरुसँग कुरा गर्दै नयाँ पार्टी भएकाले अनुभवको कमीका कारण महाधिवेशनमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरे ।
तीन दिनभित्र सम्पन्न गर्ने गरी असार ७ तामझामसहित सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चार दिन पुग्दा पनि सकिएको छैन । यो समाचार तयार पर्दासम्म जारी महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिए लगत्तै दोस्रो चरणको तयारी थालेको छ ।
जसमा दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुनेछ । सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन् । यसका लागि पाँचौंपटक निर्वाचन तालिका संशोधन गरी राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । तर, हालसम्म करिब २५ प्रतिशत प्रतिनिधि घर फर्किसकेका छन् भने महाधिवेशन दुई दिनसम्म लम्बिँदा करिब दुई करोड आर्थिक भार थपिने देखिएको छ ।
यति मात्रै होइन, रास्वपाको महाधिवेशनकै कारण प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । संघीय संसद्को प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन् । उनीहरू महाधिवेशनमा सहभागी हुन चितवन गएपछि पछिल्लो पटक प्रतिनिधिसभा बैठक शुक्रवारका लागि सारिएको थियो ।
तर रास्वपाको महाधिवेशन २ दिन पछाडि धकेलिएपछि संसद् बैठक फेरि सर्ने निश्चित छ । विगत लामो समयदेखिको मुलुकको बेथिति र भ्रष्टाचार अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्ने दाबीसहित सत्तामा आएको पार्टीले आफ्नै महाधिवेशन व्यवस्थित गर्न नसकेपछि प्रश्न उठ्न थालेको छ– पार्टी व्यवस्थित गर्न नसक्ने दलले मुलुक कसरी बनाउँछ ?
चितवनमा यति बेला उखरमाउलो गर्मी छ । यही गर्मीबिच पनि महाधिवेशनका लागि भन्दै देशका विभिन्न ठाउँदेखि विदेशबाट समेत ४५ सय हाराहारीमा प्रतिनिधिहरू सहभागी भएका छन् । भीडभाड र गर्मीले आजित बनेका प्रतिनिधि आयोजकको अपरिपक्वताका कारण निराश बनेर फर्किरहेका छन् ।
पहिलो महाधिवेशन अघि नै तीन दशकदेखि रजगज जमाइ बसेका दलहरूलाई पछार्दै बहुमतसहित सरकारमा आएको रास्वपालाई महाधिवेशनमा देखिएको अपरिपक्वताले कमजोर बनाइ दिएको छ । महँगो प्रवेश शुल्क लिएर राम्रो व्यवस्थापन नभएकोमा आयोजक समितिप्रति खनिएका धेरै प्रतिनिधिहरू बुधवार राति नै फर्किएका थिए ।
उनीहरूले रवि र बालेनका कारण मात्रै पार्टीले बहुमत ल्याए पनि व्यवस्थापकीय पाटोमा पुराना दलभन्दा पनि कमजोर देखिएको भन्दै आक्रोश पोखे ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको रास्वपालाई फागुन २१ गते सम्पन्न चुनावमा झण्डै दुई तिहाइको बहुमत प्राप्त भएको थियो । त्यही बहुमतसहित सत्ता सम्हालेको रास्वपा अहिले आफ्नै महाधिवेशनमा कमजोर देखिए पछि चौफर्कि प्रश्नको घेरामा परेको छ ।










