उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिकाबीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण तथा सहयोगात्मक रहँदै आएको बताए ।
लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्व प्रदान गर्दै आएको उपराष्ट्रपति यादवले उल्लेख गरे । उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गरे । साथै, उनले आगामी दिनमा अमेरिकाले नेपालको विकासमा निरन्तर समर्थन र सहयोग जारी राख्ने विश्वास पनि आफूले लिएको बताए ।
उपराष्ट्रपति यादवले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरे ।
भेटका अवसरमा कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्चस्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताए । उनले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अगाडि बढिरहेकामा सन्तोष व्यक्त गरे ।










