सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो, म पनि जिम्मेवार छुः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको बताएका छन् ।

काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू विभिन्न समयमा सरकार र राज्यका जिम्मेवार पदमा रहेकाले यस अवस्थाप्रति जिम्मेवार रहेको स्वीकार गर्दै नेपाली जनतासँग माफी माग्न चाहेको बताए ।

श्रेष्ठले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिका क्षेत्रमा राज्यले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गरे ।

उनले भने, ‘म विभिन्न समयमा सरकारमा, राज्यको ओहोदामा बसेको कारणले सडकआश्रित नागरिकको व्यवस्थापन गर्ने कुरा राज्यको प्रमुख दायित्व हो । यद्यपि राज्यले मात्रै त दुनियाँमा कतै पनि यो गर्न सक्दैन । तर पनि प्रमुख भूमिका राज्यकै हुनुपर्छ । राज्यले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिसहितका कुरामा फड्को मार्नेदेखि यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो, गर्न सकेन । म आफू पनि एक हदसम्म जिम्मेवार ठहराउँदै नेपाली जनतासामु आत्मआलोचना गर्न चाहन्छु, माफी माग्न चाहन्छु । अब हामी सबै मिलेर यो कामलाई अगाडि बढाउनुपर्छ ।’

विगतका कमीकमजोरी स्वीकार्दै श्रेष्ठले राज्य, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्यबाट मात्रै सडकआश्रित नागरिकलाई सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्न सकिने बताए ।

उनले सबै पक्षले साझा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =