बागमतीमा एमाले नेतृत्वको सरकार लगभग निश्चित, मुख्यमन्त्रीमा जगन्नाथ र किरणको चर्चा

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व अब नेकपा (एमाले)ले गर्ने लगभग निश्चित भएको छ । शनिबार एमाले र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेको हो । यससँगै अब सबैभन्दा ठूलो चासो एमालेबाट मुख्यमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको छ ।
एमालेभित्र संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्य मन्त्री किरण थापामगर मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । थपलियाको संस्थागत दाबी र थापाको कार्यसम्पादन तथा पार्टी नेतृत्वसँगको निकटताबीचको प्रतिस्पर्धाले एमालेभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
यता सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित गर्न राप्रपाको भूमिका पनि निर्णायक देखिएको छ । राप्रपाले समर्थन दिए एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने सम्भावना छ । यद्यपि सरकारमा सहभागी हुने वा बाहिरबाट समर्थन गर्ने भन्ने विषयमा पार्टीले अझै औपचारिक निर्णय गरिसकेको छैन ।
एमाले स्रोतका अनुसार संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्य मन्त्री किरण थापामगर मुख्यमन्त्रीका मुख्य आकांक्षी हुन् । संसदीय दलको नेताका हैसियतले थपलियाको स्वाभाविक दाबी रहे पनि मन्त्रीका रूपमा गरेको कार्यसम्पादन, संगठनभित्रको प्रभाव र पार्टी नेतृत्वसँगको निकटताका कारण किरण थापाको नाम पनि बलियो रूपमा अघि आएको छ ।
थपलियाले आफू संसदीय दलको नेता भएकाले मुख्यमन्त्रीको स्वाभाविक दाबेदार भएको बताएका छन् ।
थपलिया यसअघि बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । उनी पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहिसकेका छन् । पछिल्लो समय उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
उता किरण थापामगरले भने पार्टी नेतृत्वले जिम्मेवारी दिए सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
उनले आफू मन्त्री हुँदा गरेका कामकै आधारमा केही नेता–कार्यकर्ताले आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने धारणा राख्दै आएको स्वीकार गरेका छन् ।








