टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा

एजेन्सी । टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी) का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले पनि सामूहिक राजीनामा दिएका छन्, जसलाई टर्कीको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ । स्थानीय सञ्चारमाध्यम हुर्रियतकाअनुसार ओजेलले एनी पार्टी नामक नयाँ राजनीतिक अभियानको सुरुवात गर्न लागेका हुन् ।
कुल ९१ जना सांसदहरूले टर्कीको ई–गभर्नमेन्ट प्रणालीमार्फत आफ्नो राजीनामा बुझाएका छन् । कानूनी प्रक्रियाहरू पूरा भएपछि यी राजीनामाहरू आधिकारिक रूपमा लागू हुनेछन् । सांसदहरूको यो ठूलो बहिर्गमनसँगै टर्कीको संसदमा सीएचपीको प्रतिनिधित्व घटेर ४४ सिटमा सीमित हुनेछ ।
यससँगै सीएचपीले मुख्य विपक्षी दलको हैसियत गुमाउनेछ भने ओजेलको नेतृत्वमा गठन हुने नयाँ एनी पार्टी संसद्को दोस्रो ठूलो समूह बन्नेछ । यस फेरबदलले संसदीय समितिहरूको सिट बाँडफाँट र सीएचपीको आन्तरिक नेतृत्व संरचनामा समेत व्यापक असर पार्ने देखिएको छ ।
सन् २०२३ को नोभेम्बरमा सीएचपीको अध्यक्ष चुनिएका ओजेलकै नेतृत्वमा पार्टीले मार्च २०२४ को स्थानीय निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको थियो । सो विजयले सीएचपीलाई देशको मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको थियो ।
तर, सन् २०२३ मा भएको पार्टीको महाधिवेशनलाई अदालतले अवैध ठहर गरेपछि ओजेललाई अध्यक्ष पदबाट हटाइएको थियो । उक्त अदालती फैसलापछि पार्टीभित्र चुलिएको विवाद र विभाजनका कारण ओजेलले अन्ततः नयाँ दल खोल्ने निर्णय लिएको समाचारमा उल्लेख छ ।








