रास्वपा सांसद गणेश कार्कीकै कारण जेनजी थप भड्किएको खुलासा

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सांसद गणेश कार्कीमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
जेनजी आन्दोलनमा सांसद कार्कीको भूमिकामाथि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो ।
आयोगले प्रदर्शनअघि, प्रदर्शन जारी रहँदा र पछि पनि सांसद कार्कीले दिएका अभिव्यक्ति स्मरण गराएको छ । राष्ट्रिय अनुसन्धानले संकलन गरेको सूचना, सामाजिक सञ्जाल, प्रकाशित समाचार लगायतका आधारमा सांसद कार्कीको भूमिका संकास्पद रहेको आयोगले जनाएको छ ।
‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्न विभिन्न कोणबाट टिका टिप्पणी समेत देखिँदा २३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षति समेत निजहरूको संलग्नता रहे÷नरहेको निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
सांसद कार्की जेनजी आन्दोलनमा सडकमै निस्किएका थिए । उनले सामाजिक संजालमार्फत जेनजीहरुलाई भड्काउने खालका अभिव्यक्ति पनि दिएका थिए ।
सांसद कार्कीलाई मात्रै होइन, आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ । रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकाललाई पनि अनुसन्धान गर्न भनिएको छ ।
रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
रास्वपा केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट रास्वपा उम्मेदवार बनेका हेमराज थापालाई पनि अनुसन्धान गर्न भनिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।








