बालेन र रविबीच झन्डै चार घन्टा लामो भेटवार्ता, के-के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसंग झन्डै चार घन्टा लामो भेटवार्ता गरेका छन्।
बुढानिलकण्ठस्थित लामिछानेको निवासमा भएको उक्त भेटमा सुकुम्बासी व्यवस्थापन, सरकारको कार्यशैली, समसामयिक राजनीतिक अवस्था, जनताका अपेक्षा, संसदको प्रभावकारी सञ्चालन तथा अन्य राष्ट्रिय महत्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ।
स्रोतका अनुसार छलफलका क्रममा लामिछानेले सुकुम्बासी समस्याको मानवीय र दीर्घकालीन समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । उनले जनतामा राज्यप्रतिको विश्वास बढ्ने गरी काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री शाहले सरकारले सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा आवश्यक तयारी र काम गरिरहेको जानकारी दिएका थिए । दुवै नेताबीच सरकारको आगामी कार्यदिशा, जनअपेक्षाअनुसार सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ।
राजनीतिक वृत्तमा यस लामो भेटलाई वर्तमान सरकार र रास्वपाबीच समसामयिक राष्ट्रिय मुद्दामा समन्वय र संवादको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।








