बजेटबारे एमाले: नवीनताको नाममा अन्यौलता थपियो (भिडिओ)

काठमाडौँ । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नरहेको टिप्पणी गरेकी छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसद समेत रहेकी अर्यालले यस्तो टिप्पणी गरेकी हुन् ।
बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको आधार समेत दिन नसकेको उनको भनाइ छ । उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवीनताको नाममा अन्यौलता थपेको आरोप लगाइन् ।
उनले भनिन् ‘सरकारले अगामी आर्थिक वर्षको बजेटमा पुराना सरकारहरूले ल्याएका कार्यक्रमहरूको नाम परिवर्तन गरेर ल्याएको छ तर ती कार्यक्रमको लागि बजेट छुट्याइएको स्थिति छैन । कुनै कार्ययोजना पनि देखिँदैन । निरन्तरता पनि धेरै छैन । नवीनताको नाममा अन्यौलता देखिन्छ ।’
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।








