पशुपति विकास कोष अगाडी स्थानीयको धर्ना (तस्बिरहरू)

काठमाडौँ । तिलगङ्गाका स्थानीयले आफूहरूलाई सुकुम्वासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडी धर्ना दिएका छन् ।

तिलगंगा बी–१३ का स्थानीयहरूले बुधवार कोष अगाडी धर्ना दिएका हुन् । उनीहरूले सरकारले आफूहरूलाई जग्गा सट्टा गर्ने सम्झौता विपरीत बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् ।

प्रभावित स्थानीयहरूले २०७१ सालमा गुरुयोजना लागू गर्दा कोषसँग सट्टाभर्नासम्बन्धी सम्झौता गरेको बताएका छन् । उनीहरूले आफूहरूसँग लालपुर्जा भएको दाबी गरेका छन् । केही भने गुठीको जग्गा रहेको छ । गुठीबाट नै जात्रापुजा लगायतका गतिविधि गर्ने गरिएको उनीहरूको भनाई छ ।

कोषले गुरुयोजना बनाउँदा स्थानीयलाई गोठाटार क्षेत्रमा चार आना जग्गा उपलब्ध गराउने सहमति गरेको थियो । तर उक्त गुरुयोजना कार्यान्वयन नगरी बस्तीमा डोजर चलाइएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार पशुपति बजार र वनकाली क्षेत्रका बासिन्दालाई भने सट्टा जग्गा उपलब्ध गराएको छ । तर आफूहरूलाई भने सुकुम्वासीको सूचीमा राखेर बस्तीमा डोजर चलाएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार कोषसँग सरकारी मूल्याङ्कनमा आफ्नो जग्गा बेच्ने र कोषले उपलब्ध गराउने जग्गा सरकारी मूल्याङ्कनमै खरिद गर्नेगरि सम्झौता भएको थियो ।

धर्नामा स्थानीयले डोजर चल्यो बस्तीमा घर छैन, पीडितको सुन दिने कोही छैन !, हामी पीडित हौँ, पीडक होइनौँ, हामी सुकुम्वासी होइनौँ, स्थानीय हौँ, हाम्रो बस्ती, न खोलाको मापदण्ड, न सडकको मापदण्ड, न जोखिम क्षेत्र फेरि किन डोजर आतंक ?, पशुपतिको बृहतीकरण र विकासको विमित्त चक्रपथमा जोडिएको आफ्नो स्थान छोडी ६ किलोमिटर पर स्थानान्तरण हुन राजी हुनु के हाम्रो गल्ती हो ?, गुरुयोजना अनुरूपको स्थानान्तरण खै ?, गुरुयोजनालाई आधार मानेर अधिकरण गर्ने तर गुरुयोजनामै लेखिएको स्थानान्तरणलाई नमान्ने ?, डोजर चल्यो १९ मा जानकारी आयो २१ मा !, विश्व सम्पदा सुचीभित्र डोजर चलाउन आदेश दिनेलाई कारबाही खोइ ? लेखिएका प्लेकार्ड राखेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =