सहर जलिरहेको रातको कथा: नाटक ‘लुसिफर राइजिङ’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित एक थिएटर नेपालको लेखन कुञ्जमा शुक्रवार (जेठ १ गते) देखि व्यवस्थाविरुद्धको विद्रोह, युवापुस्ताको बेचैनी र मानिसभित्र लुकेको अँध्यारो मनोविज्ञानलाई रंगमञ्चमा उतार्ने प्रयासस्वरूप नाटक ‘लुसिफर राइजिङ’ मञ्चन भइरहेको छ ।

मझुवा बगरको प्रस्तुतिमा मञ्चन भएको यो नाटक सहलेसको लेखन तथा निर्देशनमा तयार भएको हो ।

जेन्जी आन्दोलनको भोलिपल्टको पृष्ठभूमिमा आधारित नाटकमा भदौ २४ को एक अशान्त रात चित्रण गरिएको छ ।

सहर जलिरहेको, व्यवस्था भत्किएको र मानिसहरू भय तथा अन्योलमा बाँचिरहेको अवस्थामा सुकुम्वासी बस्ती छेउको एउटा सानो छाप्रोभित्र आफ्नो भविष्यको सपना बचाइराख्न संघर्षरत एक युवतीको कथा नाटकले प्रस्तुत गर्छ ।

त्यही रात बास खोज्दै आएका शैतानहरूको प्रवेशसँगै कथाले रहस्यमय र मनोवैज्ञानिक मोड लिन्छ ।

रात गहिरिँदै जाँदा व्यक्ति भित्रको शैतान र व्यवस्थाले जन्माएको शैतानबीचको द्वन्द्व तीव्र बन्दै जान्छ । यही द्वन्द्वले अन्ततः ‘लुसिफर’ को उदय गराउँदै हिंसा, विद्रोह र पागलपनको प्रतीकात्मक चित्र कोर्छ ।

निर्देशक सहलेसका अनुसार ‘लुसिफर राइजिङ’ हाम्रो समय र परिस्थितिले जन्माएको हिंसा र पागलपनलाई बुझ्ने एउटा कलात्मक प्रयास हो ।

नाटकमा कलाकारहरू तारा, अनोज पाण्डे, बुद्धिराम चौधरी, मिलन बहादुर खड्का, सुब्रतराज सिलवाल र एडन बात्रीले अभिनय गरेका छन् ।

प्रकाश परिकल्पना राजकुमार पुडासैनीको रहेको छ भने सहायक निर्देशन शंकर पोखरेलले गरेका छन् ।

जेठ २० गतेसम्म मञ्चन हुने यो नाटक बुधवार बाहेक हरेक साँझ ५:१५ बजे र शनिवार अतिरिक्त शो दिउँसो १:१५ बजे मञ्चन हुने छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =