मुक्कुमलुङ केबलकार विवाद: आन्दोलनका कार्यक्रम घोषणा (तस्बिरहरू)

काठमाडौँ । मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानूनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण अघि आरोप लगाए । उनले केबलकार निर्माणको विषयमा सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेको अवस्थामा समेत निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन गर्न बाध्य भएको बताए ।
उनकाअनुसार केबलकार निर्माण कार्य रोक्न माग गर्दै वैशाख ३० गते काठमाडौँ, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आन्दोलनका अन्य कार्यक्रमहरूमा जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थेगिमले बताए ।
उनले जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने बताए । आन्दोलनका कार्यक्रमहरू कोशी प्रदेशमा केन्द्रित गरिने उनको भनाइ छ ।
उनले भने ‘गैरकानूनी रूपमा व्यापक ठगी र भ्रष्टाचार गर्दै झुटा, फर्जी तथा नक्कली दस्ताबेजको आधारमा मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण रोक्ने विषयमा सरकारसँग हाम्रो निरन्तर वार्ता र छलफल चलिरहेकै छ । यसअघि सरकारले स्थानीय निकाय र सम्बन्धित पक्षलाई केबलकार निर्माणका सबै कार्यलाई रोक्न दिएको निर्देशनलाई लत्त्याएर निर्माण कार्यलाई निरन्तरता दिएकोले सम्बन्धित सबैलाई खबरदारी गर्न आन्दोलनको घोषणा गर्न बाध्य भएका छौँ । आन्दोलनका कार्यक्रमअनुसार वैशाख ३० गते पत्रकार सम्मेलन गर्ने, यो पत्रकार सम्मेलन ताप्लेजुङ र काठमाडौँसहित प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पनि यो कार्यक्रम हुँदै छ । अगामी जेठ ५ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजीको सम्बन्धमा राजनीतिक दलहरूसँग अन्तरक्रिया गर्ने, जेठ ७ गते मुक्कुमलुङ अतिक्रमण र केबलकार निर्माण योजनाको विरोधस्वरु प्रधानमन्त्रीज्यूलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने, जेठ ९ गते मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी आन्दोलनको सन्दर्भमा विभिन्न संघ संस्थाहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने, जेठ ११ गते मुक्कुमलुङ संरक्षण र केबलकार निर्माणको विरोध स्वरूप कालो भण्डासहित कोण सभा गर्ने (ताप्लेजुङसहित विभिन्न जिल्लामा) ।’
मुक्कुमलुङ (पाथीभरा) क्षेत्र संरक्षणका लागि आन्दोलनका कार्यक्रमहरूमा सहभागी हुन समेत सबैमा अपिल गरे ।
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल









