सुकुम्वासी बस्तीमा डोजरः सडकमा आए गरिबका सपना (तस्बिरहरू)

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीमा डोजर चलाएको छ । शनिवार बिहानैदेखि डोजर र महानगर प्रहरीको ठुलो टोली परिचालन गरेर संरचनाहरू भत्काउन थालिएको हो । केही क्षणमै बस्तीका कयौँ घरहरू भग्नावशेषमा परिणत भएका छन् । डोजरले घर भत्काइरहँदा स्थानीयहरू आफ्नो वर्षौँदेखिको वासस्थान क्षणभरमै खरानी भएको टुलुटुलु हेर्न बाध्य छन् ।

बस्ती खाली गराउन महानगरले डोजर र सुरक्षाकर्मी परिचालन गरेपछि स्थानीयहरूमा त्रास फैलिएको छ । कयौँ परिवार आफ्नो सामान जोगाउन सडकमा भौँतारिइरहेका तस्बिरहरूले बस्तीको कारुणिक अवस्था बयान गर्छन् । घरमा भएका केही थान भाँडाकुँडा, लत्ताकपडा र जोगाउन सकेका फर्निचरहरूलाई ट्र्याकमा कोचेर सुरक्षित ठाउँमा लैजाने तयारीमा स्थानीय व्यस्त देखिन्छन् ।

एउटा तस्बिरमा ह्विलचियरमा बसेका एक असहाय वृद्धको अनुहारमा देखिएको अन्योल र निराशाले बस्तीमाथिको बज्रपातको कथा बोल्छ । त्यस्तै, भत्किएको घरको भग्नावशेषबीच केही बालबालिकाहरू खेलौना वा सामान खोज्दै गरेको दृश्यले मानवीय संवेदनालाई झस्काउँछ ।

डोजरले एउटापछि अर्को घर भत्काउँदै गर्दा बस्तीका मानिसहरू एकातिर घर गुमाएको पीडामा छन् भने अर्कोतिर बचेखुचेका सामान कसरी सुरक्षित राख्ने भन्ने चटारोमा छन् । बस्तीका सडकहरूमा यतिबेला सामानका चाङ र मानिसहरूको भिडभाड देखिन्छ । कतिपयले आफ्ना सामान लोड गरिएका गाडीहरूलाई टुलुटुलु हेर्दै बसेका छन् ।

केही स्थानीयहरू भने डोजरले भत्काएको आफ्नै घरको दृश्यलाई मोबाइलमा कैद गरिरहेका छन् ।

तस्बिरहरूले भत्किएका टहरा, छरपस्ट भएका इट्टाहरू र बालबालिकादेखि वृद्धवृद्धासम्मको बिचल्नीलाई प्रस्ट पारेको छ । बस्तीकै छेउमा बगिरहेको नदी र वरपर देखिएका मकैका बोटहरूमा पनि डोजरको असर पुगेको देखिन्छ । जनावर भग्नावशेष वरपर नै आहार खोज्दै हिँडिरहेका छन्, जसले बस्तीको अकल्पनीय विनाशलाई दर्साउँछ ।

शासनको यो कदमपछि सुकुम्वासी बस्तीका सयौँ नागरिक यतिबेला खुला आकाशमुनि आउन बाध्य भएका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =