प्रधानमन्त्रीको आश्वासन: ‘ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी यथासम्भव छिटो जग्गा वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

उनले विशेषगरी काठमाडौंका नदीकिनारका जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै वर्षायाममा हुन सक्ने सम्भावित दुर्घटना रोक्न समयमै व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

“अब पनि कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ?” भन्दै उनले नागरिकको जीवन जोखिममा राखेर समस्या टार्न नहुने प्रश्न गरेका छन् ।

प्रधानमन्त्री शाहले सुकुम्बासीलाई उचित र सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै राज्यको दायित्व भएको उल्लेख गर्दै जोखिमयुक्त स्थानमा वर्षौँसम्म राखिराख्नु समाधान नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =