अक्षय तृतीया: धर्म, संस्कृति र मानवताको शीतल सङ्गम (तस्बिरहरू)

काठमाडौँ । वैशाखको तप्त घाम, धुलो र धुवाँबीच काठमाडौँ उपत्यकाका चोक–चोकमा एउटा भिन्नै किसिमको शीतलता महसुस भइरहेको छ । यो शीतलता मौसमको उपहार होइन, बरु हाम्रा पुर्खाहरूले सुम्पिएका संस्कार र संस्कृतिले दिएको ‘सर्बत’ को मिठास हो । आज अक्षय तृतीया, अर्थात् कहिल्यै क्षय नहुने पुण्य कमाउने दिन । शास्त्रअनुसार आजको दिनलाई अत्यन्त शुभ मानिन्छ ।
त्रेता युगको सुरुवात आजकै दिनबाट भएको र भगवान् विष्णुले परशुराम अवतार लिएको विश्वास गरिन्छ । आजको दिन गरिएको दान, होम र जपको फल कहिल्यै नाश नहुने (अक्षय रहने) हुनाले यसलाई ‘अक्षय तृतीया’ भनिएको हो । काठमाडौँका रैथाने गल्लीदेखि नयाँ बस्तीहरूसम्म यो विश्वासले मानिसहरूलाई पुण्यको मार्गमा डोहोर्याइरहेको देखिन्छ । काठमाडौँका विभिन्न स्थानमा विभिन्न सामाजिक र धार्मिक सङ्घ–संस्थाहरूले निःशुल्क सातु र सर्बत बाँडिरहेका छन् । हरियो र रातो प्लास्टिकका जगहरूमा भरिएको त्यो सर्बत केवल तिर्खा मेटाउने पेय मात्र होइन, यो त परोपकारको एउटा महान् नमुना हो ।
जौको सातुले शरीरलाई शक्ति र शीतलता दिन्छ भने सख्खर हालेको सर्वतले गर्मीमा शरीरको ऊर्जालाई सन्तुलित राख्छ । बटुवाहरू, मोटरसाइकल चालकहरू, वृद्धवृद्धा र साना बालबालिकाहरूले श्रद्धापूर्वक सर्बत पिइरहेको दृश्यले काठमाडौँको व्यस्त जीवनमा पनि मानवीय संवेदना जीवितै रहेको भान गराउँछ ।
उपत्यकाका असन, इन्द्रचोक, पाटन र भक्तपुरका दरबार क्षेत्रहरू आज मानिसहरूको घुइँचोले भरिएका छन् । बाटामा हिँड्ने अपरिचित मान्छेलाई रोकेर सर्बत खाएर जानुहोस् भन्दै निम्तो दिने युवाहरूको उत्साह हेर्न लायक छ । हेल्मेट नै नलगाई सर्बत पिइरहेका चालकदेखि काखमा बच्चा च्यापेर हिँडिरहेका आमाहरूसम्म सबैले यो सांस्कृतिक प्रसादलाई सहर्ष स्वीकार गरिरहेका छन् । यो दृश्यले काठमाडौँको नेवार संस्कृति र यहाँको ‘गुथि’ परम्पराको बलियो जगलाई पुनः प्रमाणित गरेको छ ।
अक्षय तृतीया एउटा यस्तो उत्सव हो जहाँ सूर्यको रापभन्दा मानिसको हृदयको प्रेम बढी चहकिलो देखिन्छ । तिर्खाएकालाई पानी खुवाउनु सबैभन्दा ठुलो धर्म हो । जब एउटा स्वयंसेवकले आफ्नो हातको जगबाट कसैको ओठमा सर्बत खन्याउँछ, त्यहाँ जात, धर्म र वर्गको पर्खाल ढल्छ । केवल बाँकी रहन्छ त—मानवता ।
राता र हरिया जगहरूले मानौँ एउटा कथा भनिरहेका छन् ‘तिर्खा तिम्रो मात्र होइन, हाम्रो आत्माको पनि हो, जुन अरूको सेवा गरेर मात्र मेटिन्छ ।’ बालबालिकाको निधारमा लागेको रातो अक्षता र उनीहरूले रहर मानेर पिएको सर्वतले हाम्रो आगामी पुस्ताले पनि यो सुन्दर संस्कृतिलाई पछ्याउने आशा जगाएको छ ।
अक्षय तृतीयाले हामीलाई सिकाएको छ कि भौतिक सम्पत्ति त क्षणभंगुर छ, तर सेवा र दानबाट आर्जित पुण्य ‘अक्षय’ हुन्छ । काठमाडौँका यी दृश्यहरूले हाम्रो मौलिकता र परोपकारी भावनालाई विश्वसामु गौरवका साथ प्रस्तुत गरेका छन् । यो शीतल परम्परा युगौयुगसम्म यसरी नै प्रवाहित भइरहोस् ।
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल









