लेखा समितिमा कांग्रेसको उम्मेदवारी रहने, विपक्षी दलहरूबीच छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा आफ्नो पार्टीको उम्मेदवारी रहने स्पष्ट पारे । उनले भने, “लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ, बाँकी समितिका विषयमा विपक्षी दलहरूसँग सल्लाह भइरहेको छ ।”

संसदीय समितिका सभापतिमा उम्मेदवारी दिने वा नदिने विषयमा विपक्षी दलहरूबीच छलफल तीव्र बनेको छ । यही विषयमा निर्णय गर्न आज दिउँसो १२ बजे सिंहदरवारमा विपक्षी दलका नेताहरूको संयुक्त बैठक बस्ने तय भएको छ । उक्त बैठकले उम्मेदवारी दिने वा नदिने तथा दिएमा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंग्याउनेछ ।

नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् भने नेकपाका वर्षमान पुन र युवराज दुलाल पनि छलफलमा सक्रिय छन् ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ भने आजै साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ ।

संघीय संसद अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभातर्फका समितिहरूको सभापति चयन भइसकेको छ भने प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त दुई समितिको सभापति चयन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिका सदस्यहरू चयन गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले शुक्रबार समितिका सभापतिको निर्वाचन मिति घोषणा गरेका थिए ।

नियमअनुसार सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक सदस्य प्रस्तावक र अर्का सदस्य समर्थक भई उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =