काँग्रेस संसदीय दलको नेता सहमतिमा नै चयन हुन्छ- अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दाबी गरेका छन् ।

सोमवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसद्मा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाइ हुन गएको समेत स्पष्ट पारे । सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि काँग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाइ गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

नेता केसीले दलको नेतामा केही नेताहरूको दाबी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतिमा चयन हुने जिकिर पनि गरे । उनले २–३ दिन भित्र काँग्रेस संसदीय दलको नेता चयन हुने समेत बताए ।

नेता केसीले भने ‘यो हप्ता भित्रै हामी हामी दलको नेता टुङ्गो लगाउँछौँ । अब प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको नाताले संसदमा सभामुखको दायित्व निर्वाह गर्नुपर्ने भएकाले जबसम्म सभामुखको दायित्व निर्वाह गरियो, तबसम्म पार्टीको कुनै कार्यक्रम र पार्टीगत रूपबाट सहभागी हुन नहुने भएको हुनाले हाम्रा पदाधिकारी साथीहरूले स्थगित गर्नुभएको हो । भोली नै हाम्रो संसदीय दलको मिटिङ बस्दै छौ । २,३ दिन भित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठुलो जटिल विषय होइन । दलको नेतामा दाबी हुनु स्वाभाविक कुरा हो । सबैको दाबीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतिमा गर्छौ । अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

नेता केसीले सभामुख गरिमामय पद भएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भूमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =