नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्यो: मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गरेका छन् ।

अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाएका हुन् ।

सिंहकाअनुसार कुनैपनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ । नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उनको विश्लेषण छ । महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गरे ।

उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताए । सिंहले पपुलिजम ९लोकप्रियतावाद० लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने बताए ।

उनले भने ‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ । हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हाबी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ । अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको सिकार भएका छन् ।’

सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उनले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गरे । उनले अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =