कृषि तथा हल्टिकल्चर प्रवर्द्धनका लागि सरकारले निःशुल्क प्रदर्शनीस्थलको व्यवस्था गर्नुपर्छ- व्यवसायी

काठमाडौँ । कृषि तथा हल्टिकल्चर व्यवसायको प्रवर्द्धनको लागि सरकारले निःशुल्क प्रदर्शनी स्थलको व्यवस्था गर्नुपर्ने व्यवासायीहरुले माग गरेका छन् ।

भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पोमा सहभागी व्यवसायीहरूले सरकारसँग सो माग गरेका हुन् ।

नर्सरी व्यवसायी संघ, नेपालका पूर्वअध्यक्ष कुमार कसजूले मेला तथा प्रदर्शनी गर्नको लागि सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गरेर कृषि तथा हल्टिकल्चर उत्पादनको प्रदर्शनी निःशुल्क गर्न दिनुपर्ने बताए ।

हाल नेपालमा ठुला मेला गर्नको लागि ठाउँको अभाव रहेको उनको भनाई छ । उनले हाल दैनिक ७५ हजार रुपैयाँ चौरको मात्रै भाडा बुझाएर मेला आयोजना गरेको जानकारी दिए । उनले मेला महोत्सव आयोजना गर्ने व्यवस्था सरकारले नै गर्नुपर्नेमा जोड दिए । व्यवसायीहरूको उत्पादनको बजारीकरण गर्ने काम सरकारको दायित्व भएको उनको भनाई छ ।

उनले प्रदर्शनी स्थल निर्माणको लागी सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । नयाँ सरकारले यसतर्फ ध्यान दिने उनको विश्वास छ ।

उनले भने ‘हामीसँग मेला गर्ने ठाउँको अभाव छ, हामी बाहिर गएर मेला गर्नसक्छौँ, तर हामीले मेला गर्ने ठाउँमा यहाँका उपभोक्ताहरू नजान सक्नुहुन्छ । उपभोक्ता नपुग्ने ठाउँमा मेला आयोजना गरेर महत्त्व पनि राख्दैन, उपभोक्ता नभएको ठाउँमा व्यवसायीहरू पनि जाँदैनन् । यो भृकुटीमण्डपमा हामीले कार्यक्रम गरेको धेरै भइसक्यो, भोलीको दिनमा हामीले यो पाउँछौँ, पाउँदैनौ थाहा छैन् । सरकारले हामीलाई दिन्छ कि दिँदैन ? यस्तो खालको प्रवर्द्धन गर्ने काम चाहिँ सरकारको नै हो । हामीले व्यवसाय गरिरहेका छौँ, सरकारलाई कर तिरेका छौँ, रोजगारी सिर्जना गरेका छौँ । व्यवसायीले उत्पादन गरेको बस्तुको व्यावसायिक प्रवर्द्धनको लागि मेला तथा प्रदर्शनी गर्ने ठाउँहरू सरकारले विकास गर्नुपर्छ र व्यवसायीहरूलाई सञ्चालन गर्न दिनुपर्छ । त्यसो भएमा नयाँ व्यवसायीहरू पनि आउन सक्छन् । हामीले सरकारसँग लबिङ पनि गरिरहेका छौँ । कृषिजन्य वस्तु प्रदर्शन गर्ने ठाउँ र ठुला औद्योगिक वस्तुहरू प्रदर्शनी गर्ने ठाउँ एउटै छ । यही ठाउँमा टेस्ला कार पनि प्रदर्शन हुन्छ, हाम्रो बिरुवा प्रदर्शन गर्ने ठाउँ पनि यही हो । कर्पोरेट हाउसहरूको लागि छुट्टै मूल्य राख्नुपर्छ, कृषि, हल्टिकल्चर गर्नेहरूलाई सामान्य शुल्क लिने वा निःशुल्क मेला प्रदर्शनी गर्न दिनुपर्छ । राज्यले यतातिर ध्यान दिनुपर्छ । हिजोको सरकारले सोचेनन्, अहिले नयाँ सरकार बनेको छ । नयाँ आशा र उत्साह बोकेर आएको सरकारले यसका बारेमा पनि सोच्नुपर्छ ।’

उनले उद्यमी तथा व्यवसायीहरूको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लागि एक्स्पोको महत्त्व वृद्धि हुँदै गएको बताए । हर्टिकल्चर एक्स्पोले पछिल्लो समयमा कृषिमा पलायन हुँदै गएको जनशक्तिलाई पुनः फर्काउनको लागि सहयोग गरेको दाबी गरे ।

पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने पनि उनको भनाई छ । यद्यपि हर्टिकल्चर व्यवसायलाई आम नागरिकसँग भने जोड्न नसकेको उनले स्वीकार गरे । हर्टिकल्चर व्यवसाय धनाढ्यहरूको लागि मात्रै हो भन्ने भाष्य चिर्न नसकिएको उनको भनाई छ । उनले यसलाई आम उपभोक्तासँग जोड्न आवश्यक रहेको बताए ।

उनले पुष्प व्यवसायलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।

उनले भने ‘यो व्यवसाय पैसा भएका सौखिनहरूको लागि जस्तो देखिन्छ, सभ्रान्त वर्गको लागि हो फुल पनि भनिन्छ । यसलाई मान्छेको हरेक जीवनसँग जोड्नको लागि केही काम गर्न जरुरी छ । यसलाई आम उपभोक्तासँग जोड्न जरुरी छ, सामान्य कोठाभाडा लिएर बस्ने मानिसले पनि फूलहरू लगेर सजावस् । फूलको सौन्दर्यता मात्रै नभई फूलको बिरुवाले वातावरण संरक्षणको काम गर्छ, स्वच्छ हावा दिने काम गर्छ, भन्नेकुरा पनि हामीले बुझाउन सकिरहेको छैन । कोठाभाडामा बस्ने मान्छेले पनि बार्दलीमा, कोठामा बिरुवाको प्लान्ट राखोस्, डाईनिङ टेबलको प्लान्ट राखोस्, लिभिङ रुममा राखोस् । बादर्लीमा धनियाँ रोपोस्, मसला, लसुन लगाउन सक्छौँ । सानो ठाउँमा पनि हरियालीसँग र हर्टिकल्चरसँग जोडिन सक्ने सम्भावना छ । यसको लागी हामीले सचेतना कार्यक्रम पनि अगाडी बढाउनुपर्छ । हामीले उत्पादन गरेको वस्तु आर्थिक रूपमा सम्पन्न भएको व्यक्तिले उपयोग गर्ने चीज हो । आर्थिक रूपमा कमजोर मान्छेहरूले यस्ता वस्तु उपयोग गर्दैन । हामीले पुष्पलाई उद्योगको रूपमा लैजान सकेका छैनौ । यसलाई हामीले सजावटका रूपमा मात्रै प्रवर्द्धन गरिरहेका छौँ । यसलाई उद्योगसङ जोड्न जरुरी छ ।’

भृकुटीमण्डपमा बिहीबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो भइरहेको छ । शनिवारसम्म उपभोक्ताहरूको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५५ हजार बढीले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको पूर्वअध्यक्ष कसजूले बताए ।

उनका अनुसार एक्स्पोमा प्रतिगोटा ४० रुपैयाँदेखि लिएर १ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने बिरुवा किनबेच भईरहको छ । मेलामा ६५ वटा स्टल रहेका छन् । तीमध्ये वनस्पति विभाग, पुष्प विकास केन्द्र र जडीबुटी प्रशोधन केन्द्रको एक÷एक वटा सरकारी स्टल रहेका छन् भने बाँकी निजी क्षेत्रका रहेका छन् । एक्स्पो चैत २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =