इनिसाको न्यायका लागि माइतीघरमामा उत्रिए पीके कलेजका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि राजधानीमा विरोध प्रदर्शन तीव्र पारिएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा पद्म कन्या बहुमुखी क्याम्पस (पीके कलेज) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अगुवाइमा विरोध प्रदर्शन गरिएको छ । 

सडकमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारलाई अविलम्ब न्याय र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, पितृसत्ता अन्त्य गर र अपराधीलाई राजनीतिक संरक्षण बन्द गर’ जस्ता चर्का नाराबाजी गरेका थिए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भएकी इनिसा विकको गत फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । सामूहिक बलात्कारपछि उनको हत्या गरिएको भन्दै परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । न्यायको सुनिश्चितता नभएको भन्दै परिवारजनले हालसम्म बालिकाको शव बुझ्न अस्वीकार गरेका छन् । पीडित पक्षले घटनाको गहिरो छानबिन र सत्यतथ्य बाहिर ल्याउन माग गर्दै आएका छन् ।

घटनाको संवेदनशीलता र बढ्दो जनदबाबका बीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणको थप अनुसन्धान थालेको छ । सुर्खेत प्रहरीले बुधबार सीआईबीसँग सहयोग मागेपछि प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली सुर्खेत पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका किशोरहरू रहेका छन् । उनीहरूमाथि म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =