माटोसँग रमाउँदै जितपुरफेदी: असारे गीत र रोपाइँको सांस्कृतिक उत्सव (तस्बिरहरू)

‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ …
लोकभाकाका यि हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैं सजिएका छन् । आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् ।

जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य सांस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै संगीतमय बन्यो ।

रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानका बेर्ना रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो ।

रोपाइँमा बाउसेहरूको सक्रियता पनि लोभलाग्दो थियो । कोही खेत सम्याउँदै थिए त कोही पानीको कुलो व्यवस्थापनमा व्यस्त थिए । हातमा धानका बेर्ना समातेर मुस्कुराइरहेका दिदीबहिनीहरूको मुहारमा देशको मेरुदण्ड मानिने कृषिको गर्व झल्किन्थ्यो । आधुनिकताको चपेटामा हराउँदै गएको ’असार १५’ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ ।

अहिलेको जमाना मोबाइल र सेल्फीको पनि हो । रोपाइँको बीचमा टिकटक बनाउने, तस्बिर खिच्ने र यो खुशीलाई विश्वभर फैलाउने प्रयासमा युवा पुस्ता पनि निकै सक्रिय देखिएका थिए । हातमा हिलो र ओठमा मुस्कान लिएर खिचिएका यी तस्बिरहरूले कृषि पेशालाई घृणा होइन, सम्मान गर्न सिकाउँछन् ।

जितपुरफेदीको यो रोपाइँले फेरि एकपटक सम्झाएको छ–हाम्रो समृद्धि माटोमै छ । जबसम्म पञ्चेबाजाको तालमा यसरी नै खेतका गराहरू गुञ्जिरहन्छन्, तबसम्म हाम्रो मौलिकता बाँचिरहनेछ ।

           

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =