न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै चिकित्साशास्त्रका विद्यार्थीहरू सडकमा (तस्बिरहरू)

काठमाडौँ । चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै मंगलबार (असार १६ गते) माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
त्रिभुवन बिश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका एमबीबीएस तथा बीडीएस विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै हालको परीक्षा प्रणालीमा व्यापक सुधारको माग गरेका हुन् ।
उनीहरूले ११ वर्षदेखि लागू रहेको पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली तत्काल परिवर्तन गर्न, ब्याच ड्रप प्रणाली खारेज गर्न, परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्न तथा परीक्षाको तालिका व्यावहारिक र विद्यार्थीमैत्री बनाउनुपर्ने माग राखेका छन् ।
त्यसैगरी पहिलो वर्षमा परीक्षाको अवसर ८ पटक र दोस्रो वर्षमा ६ पटक पुर्याउनुपर्ने, विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्यको सुरक्षालाई प्राथमिकता दिनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।
विद्यार्थीहरूले ‘हाम्रो अध्ययन, हाम्रो अधिकार’,‘न्यायपूर्ण परीक्षा हाम्रो अधिकार’, ‘अन्याय सहँदैनौं’ जस्ता नारासहित प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू:










