कक्षा १२ नतिजा विवादः त्रुटि सच्याउन विद्यार्थीको दबाब (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले केही हप्ता अघि सार्वजनिक गरेको कक्षा १२ को नतिजामा देखिएका त्रुटिहरू सच्याउन माग गर्दै विद्यार्थीहरूले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आफूहरू परीक्षामा नियमित रूपमा सहभागी भए पनि नतिजामा ‘अनुपस्थित’ देखाइएको, अपेक्षाभन्दा निकै कम अंक आएको तथा पुनर्योग र पुनःजाँचका लागि तोकिएको शुल्क अत्यधिक महँगो भएको भन्दै विरोध जनाएका हुन् ।
विद्यार्थीहरूका अनुसार बोर्डको प्रशासनिक तथा प्राविधिक त्रुटिका कारण उनीहरूको शैक्षिक भविष्य अन्योलमा परेको छ । नतिजा छिटो सार्वजनिक गर्ने होडबाजीमा परीक्षार्थीहरू अन्यायमा परेको उनीहरूको आरोप छ ।
प्रदर्शनकारीहरूले नतिजामा देखिएका त्रुटिहरू निःशुल्क रूपमा सच्याउन, वास्तविक परीक्षार्थीलाई अनुपस्थित देखाउने समस्या तत्काल समाधान गर्न, उत्तरपुस्तिका निःशुल्क पुनः परीक्षण गर्न तथा यस विषयमा बोर्डले स्पष्ट जवाफ दिन माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू:











