बागलुङका मतदाता भन्छन्, ‘बाँदर नियन्त्रण गर्ने योजना ल्याउनेलाई भोट दिन्छौँ’

ढोरपाटन । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।

जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको बताइन । बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउँछिन् ।

“बाँदरले गाउँमा बस्न गाह्रो बनाइ सक्यो, न बारीका बाली राम्रो हुन दिन्छ, न घरमा राखेका सरसामान सुरक्षित हुन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ र रु” उनी भन्छिन्, “पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो ।”

स्थानीय प्रतिमा पौडेलले बाँदरको कारण केटाकेटी र वृद्ध वृद्धालाई गाउँमा एक्लै बस्न समस्या हुने गरेको बताइन् । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ । उनी घर छोडेर मेलापातमा जाँदा एकरदुई जना घर कुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गर्छिन् ।

‘पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुने खानेहरू सबै सहर बजार गइसके, गाउँमा हुने मानिसहरू त उही सामान्य परिवारका मात्रै छन्, पहिले–पहिले गाउँमा धेरै मान्छेहरू भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछ । यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ’ उनले भनिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =