गोकुल बास्कोटाको आक्रोश- ‘म नेताको नजरमा तिरस्कृत भएँ’

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले टिकट नपाएको असन्तुष्टि सामाजिक सञ्जालमार्फत घुमाउरो शैलीमा व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र काभ्रे-२ बाट एकल सिफारिस भएर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि बास्कोटाले आफूलाई ‘नेताको नजरमा एक जनपरित्यक्त पात्र’ को उपमा दिएका हुन् ।
मकवानपुरको थाहा नगरपालिका पुगेका बास्कोटाले आइतबार बिहानै एक तस्बिर सार्वजनिक गर्दै राजनीति र प्रकृतिको ‘दृष्टिभ्रम’ लाई जोडेर व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘अग्लो ठामबाट परको हिमाल आफूभन्दा होचो देखियो, मानिसहरू केवल कमिलाजस्ता ।’ बास्कोटाको यो अभिव्यक्तिलाई अध्यक्ष ओलीसँगको बढ्दो दूरी र टिकट वितरणमा भएको विभेदप्रतिको आक्रोशका रूपमा बुझिएको छ ।
काभ्रे–२ मा बास्कोटालाई रोकेर ओलीले धुलिखेलका पूर्वमेयर अशोक ब्याञ्जुलाई टिकट दिएका छन् । उता, मकवानपुर–२ मा भने महेश बर्तौलाले पुनः टिकट पाएका छन्, जहाँ पुगेर बास्कोटाले बर्तौलाको ‘सानदार जित’ हुने दाबी समेत गरेका छन् । आफूले टिकट नपाएको पीडा र बर्तौलाले टिकट पाएको सन्दर्भलाई उनले एकैसाथ जोडेका छन् ।








