देउवाको ‘मौनव्रत’ले कार्यकर्तामा अलमल

काठमाडौं । देशभर यतिबेला चुनावी सरगर्मी बढेको छ । कांग्रेसका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्, चोक-चौतारामा कोणसभाहरू भइरहेका छन् । तर, पाँच पटक देशको प्रधानमन्त्री र दुई कार्यकाल पार्टीको बागडोर सम्हालेका शेरबहादुर देउवा भने यो कोलाहलबाट पूर्णतः विमुख छन् ।
शुक्रबार सहिद दिवसको अवसरमा समेत देउवाको मौनता टुट्न सकेन, न त उनले कुनै सार्वजनिक शुभकामना सन्देश नै जारी गरे । विशेष महाधिवेशनबाट गगन थापाले पार्टी नेतृत्व हातमा लिएसँगै देउवा बालुवाटारस्थित निवासमै सीमित भएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिँदै अभिलेख अद्यावधिक गरेपछि देउवाको असन्तुष्टि र मौनता थप रहस्यमय बनेको छ । उनले न त नवनिर्वाचित सभापति थापालाई बधाई दिएका छन्, न त आफ्नो सामाजिक सञ्जाल (फेसबुक/एक्स) बाट ‘सभापति’ को हैसियत नै हटाएका छन् ।
देउवा निकट स्रोतका अनुसार, सत्ता र शक्ति गुम्दाको पीडा तथा पार्टीभित्रको अप्रत्याशित समीकरण बदलिएपछि उनी गहिरो असन्तुष्टिमा छन् । यो असन्तुष्टि गत ५ माघको मध्यरातमा उत्कर्षमा पुगेको थियो । एकातर्फ थापा नेतृत्वको समितिलाई अवैधानिक भन्दै अदालत गुहारेका देउवा, अर्कोतर्फ सोही नेतृत्वको हस्ताक्षरबाट चुनाव लड्न अन्तिम समयसम्म प्रतीक्षारत थिए । गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीको नयाँ नेतृत्वले उनलाई टिकट थमाएन ।
राति १२:२० बजेसम्म टिकटको आशमा बसेका देउवा अन्ततः निराश बन्दै उम्मेदवार नबन्ने घोषणा गर्न बाध्य भए । लगत्तै उनका ठाउँमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाए । यद्यपि, देउवा पक्षले सिफारिस गरेका विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहित ३५ जना नेताले भने टिकट पाएका छन् । तर, देउवा आफैं रिङआउट भएपछि उनका समर्थकहरूमा नैराश्यता छाएको छ ।
डडेलधुराको पुकार !
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । अदालतले अन्तरिम आदेश नदिई अग्राधिकारमा राखेर सुनुवाइ अघि बढाएको छ । देउवा अझै पनि अदालतबाट आफ्नो पक्षमा फैसला आउने झिनो आशमा छन् र यही कारण देखाउँदै आफू निकट नेताहरूलाई ढाडस दिइरहेका छन् ।
उता, ०४८ सालदेखि देउवालाई निरन्तर जिताउँदै आएको डडेलधुरा भने आफ्ना ‘अभिभावक’को अनुपस्थितिले खल्लो महसुस गरिरहेको छ । देउवाको स्थानमा टिकट पाएका नैनसिंह महर भन्छन्, ‘शेरबहादुर दाइ यहाँको नेता मात्र होइन, अभिभावक हो । मतदाताहरू उहाँलाई एकपटक देख्न, सुम्सुम्याउन र फोटो खिचाउन चाहन्छन् ।’
देउवाको असहयोग र मौनताका बीच सभापति गगन थापा भने पार्टी एक ढिक्का रहेको सन्देश प्रवाह गरिरहेका छन् । शुक्रबार धनुषाको चुनावी सभामा बोल्दै थापाले भने, ‘श्रद्धेय नेता शेरबहादुर देउवासँग मेरो निरन्तर संवाद भइरहेको छ । हिजोका कुरामा अल्झिने सुविधा हामीलाई छैन ।’
थापाले निर्वाचनमा अन्तर्घात वा असहयोग भए कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । तर, व्यवहारिक धरातलमा भने पुरानो संस्थापन पक्ष र नयाँ नेतृत्वबीच मर्यादाक्रम, मञ्च व्यवस्थापन र २३ भदौका घटनाक्रम (जेनजी विद्रोह) लाई हेर्ने दृष्टिकोणमा अझै खाडल देखिन्छ । तत्कालीन प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार नेताहरूको पदीय मर्यादा नमिल्दा चुनावी मञ्च सेयरिङमा असहजता देखिएको छ ।








