प्रचण्डलाई विप्लवको जवाफः ‘माओवाद फालिँदैन–विचलनकारी एकताको अपील सुहाउँदैन’

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादको पक्षमा आफूहरू सधैँ अडिग रहने स्पष्ट पारेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उनले विचलनबाट भागेर गरिने एकताको अपील नसुहाउने बताएका हुन् ।

कार्यक्रममा विभिन्न पृष्ठभुमिबाट आएका कार्यकर्ताहरूको एकता घोषणा भएपनि विप्लवको यो सम्बोधनले माओवादी आन्दोलनभित्रको गहिरो ध्रुवीकरण र विचारधाराको शुद्धताको बहसलाई फेरि एकपटक तिखो बनाएको छ ।

उनले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर बनाएको पार्टी कमजोर भएको आरोप पनि लगाए । यो जवाफले कम्युनिस्ट आन्दोलनका दुई धारबीचको तनावलाई थप उजागर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आउनुभएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै आलोचना गरे ।

उनले विचलनबाट भागेका नेताहरूलाई फर्किन अपिल गर्दै विचारधाराको शुद्धता र सुदृढ एकताको आवश्यकता जोड दिए ।

नेपालको राजनीति तरंगमयः पार्टी फुट, मिलन र जनताको अलमल
विप्लवले वर्तमान राजनीति ‘तरंगमय’ भएको बताए । नयाँ पार्टी जन्मिने, पुराना मर्ने, सत्तासीन वर्ग विभाजित हुने, पुराना नेताहरू बदनाम हुने क्रम चलिरहेको उनको भनाइ छ । उनकाअनुसार जनतामा अलमल छ—केही नयाँ शक्तितिर, केही क्रान्तिकारीसँग एकताबद्ध हुँदैछन् । कम्युनिस्ट आन्दोलनमा पनि एकता र विभाजनको प्रक्रिया तीव्र छ । ‘ठूला संकटले सबै क्षेत्रमा प्रभाव पार्छ । सत्तासीन वर्ग पनि ध्रुवीकृत हुन्छन् ।’ विप्लवले भने ।

पुराना कम्युनिस्ट पार्टीमा विचलनः सर्वहारा नेता अरबपति बने
विप्लवले पुराना कम्युनिस्ट पार्टीहरू (माओवादी केन्द्रसहित) मा आएको विचलनलाई कटु सत्यका रूपमा प्रस्तुत गरे । उनले भने, ‘हिजो खान–लाउन नपुग्ने सर्वहारा नेताहरू आज अरबपति बनेका छन् । जनताले उनीहरूका घर जलाउने स्थिति आएको छ ।’

उनले कम्युनिस्ट पार्टीहरू श्रम, मेहनत र जनतामा आधारित हुने सिद्धान्तबाट विचलित भएको आरोप लगाए ।

प्रचण्डलाई प्रत्यक्ष अपीलः ‘फर्किनुस्, होइन भने विचलन जारी छ’
विप्लवले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाएपनि समाजवादी मोर्चा भन्दा कमजोर रहेको बताए । २५ सय– तीन हजार केन्द्रिय सदस्य थुपारेर पार्टी ठूलो बनाउन नसकिने भन्दै यो घुइँचो मात्रै भएको बताए ।

उनले भने, ‘प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाए । तर त्यो मोर्चाभन्दा पनि कमजोर छ । २५ सय–३ हजार केन्द्रीय सदस्य थुपारेर पार्टी ठूलो बनाउन सकिँदैन । यो घुइँचो मात्र हो ।’

माओवादमा फर्किन अपिल
उनले होसमा भए माओवादमै फर्किन अपिल पनि गरे । जनताको घरमा खाना खाएको याद छ भने माओवादमै फर्किन उनको आग्रह छ । माओवाद कसैले फालेर नफालिने उनको भनाइ छ । प्रचण्डलाई लक्षित गर्दै विप्लवले एकताको अपिल विचलनकारीहरूले गर्न नसुहाउने बताए । सही बाटोमा हिँडेको, अनुशासनमा बसेको पार्टीले एकताको अपिल गर्नुपर्ने बताए । विचार–मूल्य–अनुशासनविनाको एकता आन्दोलन विसर्जन गर्ने उनको भनाइ छ ।

‘माओवादी होसमा छौ भने फर्किनुस् । जनताको घरमा खाना खाएको याद छ भने फर्किनुस्। सहयोद्धालाई दफनाएर हिँडेको भावना छ भने फर्किनुस् । माओवाद तिमीहरूले फालेर फालिँदैन। क्रान्तिकारी आन्दोलनबाट भागेर सिद्धिँदैन ।’ उनले भने ।

पार्टीको लाइनः संसद हतियार मात्र, मुख्य काम जनतामा
विप्लवले पार्टीको तर्फबाट आफ्नो स्पष्ट अडान समेत राखे । संसद केवल हतियार रहेको र मुख्य काम पार्टी निर्माण र जनताको बीचमा बस्नु रहेको उनको बुझाइ छ ।

‘दुई पङ्क्ति समानान्तर चल्छन्—संसदमा गएर लड्ने र जनतामा बसेर काम गर्ने । झाडु लगाउने कार्यकर्तादेखि मन्त्रीसम्म तालमेल मिलाउनुपर्छ,’ उनले भने ।

एमसीसीविरुद्ध सडकबाट लडे जस्तै, संसद् बिग्रिए पनि सडकबाट देशको ड्युटी गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन निष्पक्ष नहुने आशंका राख्दै उनले भने, ‘जनताले बुझे बहुमत ल्याउँछौँ । जिते पनि नजिते पनि क्रान्ति सिधिँदैन ।’

क्रान्तिकारी एकताको अपिल : सही केन्द्रमा गोलबन्द हुनुपर्छ
विप्लवले सम्पूर्ण माओवादी तथा क्रान्तिकारी कम्युनिस्टहरूलाई सही केन्द्रमा गोलबद्ध हुन अपिल गरे । देशमा सुदृढ एकता आवश्यक रहेकाले विचार, मूल्य, अनुशासनमा उभिएको केन्द्रमा गोलबद्ध हुन आह्वान गरे ।

उनले भने, ‘सुदृढ एकता चाहिन्छ । विचार, मूल्य र अनुशासनमा उभिएको केन्द्रमा गोलबन्द हुनुपर्छ । युवा कार्यकर्ताहरू उत्साहका साथ काम गर्नुहोस्। माओवादी सकिएको होइन भन्ने प्रमाणित गर्नुहोस् ।’

उनले माओवाद सकिएको छैन भन्ने प्रमाणित गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =