सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट छैन: बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पटक-पटक नेपाली जनता शहीद भएको तर उनीहरूको सपना पुरा हुन नसकेको बताएका छन् ।
सहिद दिवसका अवसरमा शुक्रवार बालेनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट कसैलाई पनि नरहेको बताएका हुन् ।
उनी लेख्छन्:
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।
त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।
यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो ।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो ।
अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।
लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जबाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।
यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।
अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरूको सपना पुरा गर्ने ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यस पटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूको स्मरण गर्दै वहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।
फेरी कसैले शहीद बन्नु नपरोस्!
सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।










