ज्ञापनपत्र बुझाउने होइन, निर्णय गर्ने दाङ बनाउँछु : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले जिल्लाको चौतर्फी विकास र समृद्धिको स्पष्ट मार्गचित्रसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको रूपमा प्रदेश राजधानी दाङ ल्याउन नेतृत्वदायी भूमिका खेलेका पोखरेलले अबको आफ्नो कार्यकाल दाङलाई राष्ट्रिय राजनीतिको केन्द्र र समृद्धिको नमुना बनाउन केन्द्रित हुने उद्घोष गरेका हुन् ।

आफ्नो कार्यकालमा ‘पानीमुनिको पुल’ को पहिचान बदल्नेदेखि संघीयता कार्यान्वयनको आधारशिला खडा गरेको स्मरण गराउँदै पोखरेलले दाङलाई अब विकासको नयाँ उचाइमा पुर्‍याउने संकल्प गरेका छन् । ‘हिजोका दिनमा हामी विकासका लागि ज्ञापनपत्र बोकेर हिँड्थ्यौँ, अब त्यस्तो अवस्था रहने छैन,’ चुनावी एजेण्डा सार्वजनिक गर्दै उनले भने, ‘अबको दाङ आफैँले आवश्यकता बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने सामर्थ्य राख्ने ‘निर्णायक दाङ’ बन्नेछ ।’

पोखरेलको प्रतिबद्धता पत्रमा लामो समयदेखि अलपत्र परेको लमही-घोराही-तुलसीपुर फोरलेन सडकलाई तीव्रताका साथ सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । यस्तै, तुलसीपुर विमानस्थललाई विस्तार गरी ७२ सिटे जहाज सहजै अवतरण गर्न सक्ने बनाउने र घोराही-वंगलाचुली खानी क्षेत्रको सडकलाई स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । ग्रामीण सडकको कालोपत्रे र सहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गरी जिल्लाको यातायात सञ्जाललाई आधुनिक बनाउने उनको लक्ष्य छ ।

स्वास्थ्य क्षेत्रमा ठूलो सुधारको योजना ल्याउँदै पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० बेडको अत्याधुनिक भवन निर्माण र मेडिकल कलेजको पूर्वाधार विकास गर्ने बताएका छन् । दाङका अस्पतालहरूलाई ‘रिफर सेन्टर’ बाट विशेषज्ञ सेवा प्रदायक संस्थामा रूपान्तरण गर्ने उनको दाबी छ । शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन र सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई उनले विशेष जोड दिएका छन् ।

जिल्लाको आर्थिक मेरुदण्डका रूपमा ३५० बिघा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पोखरेलले अघि सारेका छन् । नयाँ लगानीकर्तालाई आयकर छुट, युवाहरूका लागि विनाधितो सहुलियत ऋण र कृषिको व्यवसायीकरणमार्फत स्वरोजगारी सिर्जना गर्ने उनको खाका छ । सिँचाइका लागि गुहारखोला हाइड्याम तथा आधुनिक नहर प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

राजनीतिमा इमानदार र निष्कलंक छविका रूपमा चिनिएका पोखरेलले स्वास्थ्य बीमाको दायरा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने बताएका छन् । प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयन गर्दै दाङको गौरवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उनले विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =