रास्वपाकी निशा डाँगी झापा–२ बाट प्रत्यक्ष चुनाव लड्ने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की युवा तथा चर्चित नेतृ निशा डाँगीले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेकी छन् । यसअघि समानुपातिक सांसद रहेकी २५ वर्षीया डाँगीलाई कान्छी सांसद र जेनजी नेतृका रूपमा चिनिन्छ ।

पार्टी नेतृत्वले संसदमा प्रभावकारी भूमिका निर्वाह गरेकी डाँगीलाई यसपटक प्रत्यक्ष चुनावबाटै संसद प्रवेश गराउने रणनीति बनाएको बुझिएको छ । यसअघि संसदमा रास्वपाको सचेतकको जिम्मेवारी सम्हालेकी उनले युवा तथा महिला मुद्दामा सक्रियता देखाएकी थिइन् ।

रास्वपाले अझै टिकटको अन्तिम टुंगो लगाइसकेको छैन । यसपटक प्राइमरी निर्वाचन नहुने भएपछि उम्मेदवारी आकांक्षीहरूले विभिन्न तरिकाबाट लविङ गरिरहेका छन् । केहीले पार्टी केन्द्रमा सिधै निवेदन दिएका छन् भने केहीले स्थानीय कमिटीबाट सिफारिस गराएका छन् ।

पार्टीले उम्मेदवार सिफारिसका लागि डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा छुट्टै समिति गठन गरेको छ । यो समितिले विभिन्न क्षेत्रका आकांक्षीहरूको मूल्यांकन गरी सिफारिस गर्ने बताइएको छ ।

झापा–२ मा निशा डाँगीबाहेक पूर्वसभामुख इन्दिरा रानाको नाम पनि स्थानीय स्तरमा चर्चामा छ । तर पार्टी निकट स्रोतका अनुसार डाँगीकै सम्भावना निकै बलियो रहेको छ ।

यो क्षेत्रमा गत निर्वाचनमा एमालेबाट देवराज घिमिरे विजयी भएका थिए । उनी हाल प्रतिनिधिसभाका सभामुख छन् । घिमिरेले २७,७७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २२,९७० मतसहित दोस्रो भएका थिए । तेस्रो स्थानमा माओवादी र चौथोमा रास्वपा परेको थियो ।

यसपटक पनि एमालेबाट घिमिरे नै पहिलो नम्बरमा सिफारिस भएका छन् । एमालेका प्रभावशाली नेता अग्नि खरेलको नाम पनि सिफारिस सूचीमा छ ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग खरेलको सम्बन्ध अहिले पहिलेजस्तो राम्रो नरहेको एमाले स्रोतहरूले बताएका छन् । यसले घिमिरेकै सम्भावना बलियो रहेको देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =