मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी भत्ता लिएका वडाध्यक्षसहित ३ जना विरुद्ध मुद्दा

काठमाडौँ । मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाली भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्षसहित ३ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोइराला, तत्कालीन वडा सचिव र खरिदार विनय उप्रेती र कार्यालय सहायक दल बहादुर थापाले सामाजिक सुरक्षा भत्ता वितरणको सक्कल भरपाई अभिलेख (सरकारी कागजात) मा मृत्यु भइसकेका तर अभिलेखमा लगत कट्टा नभएका लाभग्राहीहरूको हस्ताक्षरको महलमा बदनियतपूर्वक आफ्नो विभिन्न औँलाको औँठाछाप लगाई लाभग्राहीहरूले पाउने रकम आफै भुक्तानी लिएका थिए ।
गैरकानूनी तरिकाले सरकारी कागजात सच्याउने, केरमेट गर्ने, थपघट गर्ने, हेरफेर गरी सार्वजनिक सम्पत्तिको हिनामिनासमेत गरेकाले आज विभिन्न सजायको माग गरी उनीहरूमाथि मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।









