नेपाल पर्वतारोहण संघलाई एकाधिकार दिन सकिँदैनः पर्यटनमन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण संघलाई एकाधिकार दिन नसकिने बताएका छन् ।
सोमवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा स्पष्ट पारेका हुन् ।
मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र संघीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुनेगरी कानूनी व्यवस्था गर्न उपयुक्त नहुने तर्क गरे ।
उनले सो संस्था संस्था दर्ता ऐन अन्तर्गत स्थापना भएकाले अरु नागरिकहरुले पनि त्यसैगरी संस्था दर्ता गर्न पाउने भएकाले पनि एउटा संस्थालाई मात्रै एकाधिकार दिनेकुरा गर्न नमिल्ने पनि बताए ।
मन्त्री सिन्हाले पर्वतारोहण क्षेत्रमा नेपाल माउन्टेन एकेडेमी, नेशनल माउन्टेन गाइड एशोसिएशन जस्ता संस्थाहरुले पनि काम गरिरहेकाले एउटा संस्थालाई मात्रै एकाधिकार हुने गरी अघि बढ्न नहुने बताए ।
मन्त्री सिन्हाले नेपालको पर्वतारोहण क्षेत्रमा सो संघले अतुलनीय योगदान दिएको समेत उल्लेख गरे ।









