कांग्रेस विशेष महाधिवेशन

देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन, नयाँ नेतृत्व चयनको बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णायक कदम चालेको छ ।

भृकुटीमण्डपमा जारी बन्दसत्रले ’विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ लाई पारित गर्दै वर्तमान कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै विघटनको घोषणा गरेको हो ।

कार्यविधिअनुसार २०७८ मंसिर २४–२८ गते सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद समाप्त भएको अवस्थालाई आधार मानेर यो निर्णय गरिएको छ । यसले १५औं महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था गरेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित यो महाधिवेशनले विगतका केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिका निर्णयहरूको पुनरवलोकन, सुधार तथा आवश्यक परेमा निष्क्रिय वा खारेज गर्ने प्रावधान पनि राखेको छ । साथै, पुस २७–२८ गते बोलाइएको केन्द्रीय महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि पारित गरेको छ ।

यो कार्यविधि हलले ध्वनिमतबाट पारित गरेको छ । महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधिको सहभागिता रहेको दाबी गर्दै आएका छन् भने संस्थापन पक्षले यसलाई अवैधानिक ठहर गर्दै ‘पर्ख र हेर’ को रणनीति अपनाएको छ । सभापति देउवाले यसलाई पार्टी फुटाउने प्रयास भनेका थिए, तर महाधिवेशनले पार्टी एकतामा जोड दिँदै अघि बढ्ने बताएको छ ।

विशेष महाधिवेशनले एक जना संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गरी नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाउने प्रस्ताव पनि अघि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =