अनौपचारिक प्रयासमा टुंगिएन कांग्रेस महाधिवेशनको मिति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दै छ । गत असोज २८ गतेबाट सुरु भएको यो बैठक महाधिवेशनको मिति निर्धारणमा देखिएको विवादका कारण पेचिलो बन्दै गएको छ ।
एक हप्तासम्म अनौपचारिक प्रयास गर्दा पनि नेतृत्वले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेको छैन । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकले लामो समयदेखि अनिर्णित रहेको महाधिवेशनको कार्यतालिकाबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ । गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले आ-आफ्ना धारणा राखिसकेका छन् । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको प्रयासका लागि भन्दै बैठक पटकपटक स्थगित गर्दै आएका थिए ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनका सम्बन्धमा पार्टीभित्रका दुवै पक्ष आ-आफ्नो अडानमा कायम छन् । ‘अहिलेसम्म विवाद मिलेको छैन । महामन्त्रीज्यूहरूले निर्वाचन अगाडि महाधिवेशन हुनुपर्छ भनिरहनुभएको छ भने हामीले अहिले निर्वाचनको तयारीमा पार्टी लाग्नुपर्छ र निर्वाचनपछि महाधिवेशन गरौँला भनिरहेका छौँ,’ प्रवक्ता महतले भने ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । लगत्तै सोही दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका प्रस्तुत गरेका थिए । महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन पक्षले समर्थन गरेपछि कांग्रेसभित्र यो विषय झन् गहिरिँदै गएको छ ।
आजको बैठकले यस लामो रस्साकस्सीको अन्त्य गर्दै महाधिवेशनको मिति टुंग्याउने या विवाद अझै लम्बिने भन्ने विषयमा सबैको चासो बढेको छ ।








