कुलमानको पार्टीले दियो निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिकको निवेदन

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग सम्बद्ध उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

घिसिङले यसअघि गत साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगमा दर्ताका लागि निवेदन दिइसकेको उक्त दलले हाल पदाधिकारीमा परिवर्तनसहितको अद्यावधिक विवरण बुझाएको हो ।

नयाँ विवरणअनुसार, पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई पार्टीको अध्यक्ष बनाइएको छ । दलको चुनाव चिह्न ‘चिम’ रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उज्यालो नेपाल पार्टीको निवेदन कार्यालय समय सकिनु अघि आयोगमा पुगेको हो ।

‘कार्यालय समय सकिने बेला उहाँहरूको निवेदन आएको छ। थप हेर्न पाएका छैनौं,’ भट्टराईले भने, ‘निर्वाचन घोषणाअघि नै गत साउनमा उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन परेको छ ।’

आयोगले अब दल दर्ताको प्रमाणपत्र दिनुअघि दलका पदाधिकारी र केन्द्रीय समितिको सनाखत गराउने जनाएको छ । उनका अनुसार हाल आयोगमा विभिन्न नयाँ दलका निवेदन अध्ययनको क्रममा रहेका छन् ।

कुलमान घिसिङ नेतृत्वको समूहले ५१ सदस्यीय केन्द्रीय समिति रहने गरी अद्यावधिक विवरण आयोगमा पेस गरेको हो ।

यद्यपि, मन्त्री घिसिङ हालसम्म पार्टीमा औपचारिक रूपमा सक्रिय भएका छैनन् । उनी केही समयपछि औपचारिक रूपमा सक्रिय हुने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =