मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

केही जिल्ला सभापतिको सक्रियतामा आज राजधानीमा आयोजित कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला कार्यक्रममा उनीहरूले तोकिएको समयमा महाधिवेशन हुन नसके त्यसको जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो केन्द्रीय कार्यसमितिले लिनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखसमेत रहेका काठमाडौँ क्षेत्र नं. २ का पूर्व सभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतले विधानले तोकेको समय आगामी मङ्सिरभित्र पार्टीको नियमित महाधिवेशन नभए केन्द्रीय समितिका सबैले राजीनामा दिएर तदर्थ समिति गठन गरी महाधिवेशन गरिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्व महामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यद्वय बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले मङ्सिरभित्र नियमित महाधिवेशन गर्न नसके केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरिनुपर्ने, युवाका नाममा २० वर्षअघिदेखि तीन जना व्यक्तिको मात्र प्रतिनिधित्व भइरहने परिपाटीको अन्त्य गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =