रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबार ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबार स्थित आयोगको कार्यालय ल्याएको छ । आयोगले लामिछानेलाई २४ भदौमा कारागारबाट बाहिर निस्किएको घटनासम्बन्धी सोधपुछ गर्ने उद्देश्यले बोलाएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लामिछानेसँग सोधपुछ गर्न उनलाई कारागारबाट सिंहदरबार ल्याएको हो । आयोगका स्रोतका अनुसार, लामिछानेलाई कारागार प्रशासनबाट अनुमतिपत्रका आधारमा नख्खु कारागारबाट बाहिर ल्याइएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिर निस्किएका थिए ।
यो घटनापछि कारागार प्रशासनको अनुमतिको आधिकारिकतामा शंका उब्जेको थियो । यद्यपि, लामिछाने पछि पुनः कारागार फर्किएका थिए।
पछिल्ला दिनहरूमा आयोगको टोलीले २४ भदौको घटनाको विश्लेषण गर्न नख्खु कारागारको निरीक्षण गरेको थियो । साथै, आयोगले कारागार प्रमुख सत्यराज जोशीको बयान पनि लिएको थियो ।








