नेकपा एसलाई एमालेमा समाहित हुन योगेश भट्टराईको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीचको एकताको चर्चाले राजनीतिक वृत्तमा फेरि एकपटक तरंग ल्याएको छ । यसैबीच, एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले ‘जनताको बहुदलीय जनवाद’ (जबज) प्रतिको अविचलित प्रतिबद्धता नै दुई पार्टीबीचको एकताको मुख्य आधारशिला हुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा समाहित हुन खुला आह्वान गर्दै नेता भट्टराईले वैचारिक र सैद्धान्तिक निष्ठालाई एकताको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी अध्यक्ष, महासचिवलगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौँ। तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौँ,’ भट्टराईले लेखेका छन्, ‘जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो। अरू सबै तपसिलका विषय हुन् ।’

पछिल्लो समय एकताका लागि एमालेको नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त रहेको चर्चा चलिरहँदा भट्टराईले यसलाई अनावश्यक बहसको संज्ञा दिएका छन् । उनका अनुसार, कुनै पनि सहकार्यका लागि नीति र नेतृत्वप्रतिको सहमति एक स्वाभाविक प्रक्रिया हो । ‘नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन,’ उनले भने, ‘जबज हाम्रो साझा सिद्धान्त र नीति हो। यसलाई तपाईं हाम्रो साझा प्रयत्नले थप परिष्कृत र समृद्ध बनाउने हो ।’

नेता भट्टराईले एमालेको लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने प्रणाली नै एकताको अर्को महत्वपूर्ण आधार भएको स्मरण गराएका छन् । पार्टीको ११ औं महाधिवेशनको मिति तय भइसकेको सन्दर्भमा, महाधिवेशनपूर्व नै नीति र नेतृत्वमाथि बहस गर्ने वैधानिक परम्परा पाँचौँ महाधिवेशनदेखि नै स्थापित भएको उनले उल्लेख गरे ।

उनले कुनै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्तभन्दा माथि उठेर बृहत्तर हितका लागि सोच्न आग्रह गरेका छन् । ‘एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो,’ भट्टराईले भने, ‘एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ? यो गौण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =