मधेस प्रदेशको खानेपानी तथा सिँचाइको अवस्थाबारे स्थलगत अध्ययन पेस

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिअन्तर्गतको खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा रहेको खानेपानी तथा सिँचाइको अवस्थाबारे स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेस गरेको छ ।
संसदीय उपसमितिले मधेस प्रदेशमा रहेको खानेपानी र सरसफाइको समस्याको स्थलगत अध्ययनका साथै सरोकारवालासँगको छलफलपछि तयार पारेको अध्ययन प्रतिवेदन समितिको मङ्गलवारको बैठकमा पेस गरेको हो ।
खानेपानी सरसफाइ तथा स्वच्छता उपसमिति उर्मिला अर्यालले प्रतिवेदन पेस गर्दै मधेस प्रदेशमा खानेपानीको गम्भीर समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन माग राखे । प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरूले तराई लगायत देशभर रहेको खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
मधेसको खानेपानीको समस्या समाधानका लागि प्रतिवेदन कार्यान्वयन गराउन उनीहरूले माग गरेका छन् । प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद वामदेव गौतमले हिमालदेखि पहाडसम्मको खानेपानी र सिँचाइको समस्या समाधानसहित आफूले लेखेको पुस्तक सांसदहरूलाई वितरण गरेको भएपनि अध्ययन नगरेको गुनासो गरे ।
उनले खानेपानी र सिँचाइको समस्या समाधानको संरचना उक्त पुस्तकमा उल्लेख गरिएको बताए ।
सांसद गौतमले भने ‘यो प्रतिवेदन देख्ने बित्तिकै मैले मेरो किताबलाई सम्झिएँ । त्यसमा मैले तराईका यावत समस्या समाधान गर्ने संरचना बनाएको छु । त्यो किताब मैले सबै माननीयज्युहरुलाई पुग्नेगरी दिएको तर त्यसको अध्ययन भएन । यदि त्यसको अध्ययन हुने हो भने अहिलेसम्म तराईमा देखा परेका सबै समस्याहरू समाधान हुन्छन् ।’
नेकपा ९एकीकृत समाजवादी०का सांसद घनश्याम रिजालले मदेशमा सुख्खाग्रस्त अवस्था फेरि दोहोरिन सक्ने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
उनले तत्कालीन सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भएपनि घोषणा गरिएको राहत तथा पुनर्स्थापना कार्यक्रम कार्यान्वयन नहुनुका कारण समस्या पुनः दोहोरिसक्नेतर्फ सचेत हुनुपर्ने बताए । रिजालले समस्या पर्दा मात्र चासो देखाउने र त्यसपछि सुस्ताउने प्रवृत्तिले समस्याको दीर्घकालीन समाधान दिन नसक्ने पनि बताए ।
उनले भने ‘हाम्रो समस्या के भयो भने जतिखेर समस्या पर्छ त्यतिखेर मात्र चासो दिने र त्यसपछि सुस्ताएर बस्ने प्रवृत्ति छ । अर्को समस्या नआउँदा सम्म समस्याप्रति गम्भीर नहुने प्रचलनको अन्त्य गर्नुपर्छ । तत्कालीन सरकारले मदेशमा सुख्खाग्रस्त भएपछि संकटग्रस्त क्षेत घोषणा त गर्यो । तर लागु गर्छु भनेका कार्यक्रम नै लागु हुन सकेनन् । त्यसको सुरुवात समेत भएको अवस्था छैन । मैले त्यतिबेला नै ट्युबेलहरु मर्मत गर्नुपर्ने अवस्थामा मर्मत गरेर नयाँराख्नुपर्ने आवश्यकता नयाँ राखेर जानुपर्छ भनेकोमा पछि आफैँ पानी परेर तत्कालका लागि समस्या हल भयो । तर अझै ५ महिनापछि त्यही समस्याको सामना गर्नुपर्ने देखिन्छ । त्यसैले समस्याको समाधानका लागि वर्तमान सरकारसँग पनि छलफल गर्नुपर्ने आवश्यकता छ ।’
उनले मधेस प्रदेशमा ट्युबेल मर्मत तथा नयाँ स्थापना गरेर खानेपानी तथा सिँचाइको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।








