माधवको एकता, झलनाथको विद्रोह

काठमाडौं । चार वर्षअघि नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी यतिखेर गम्भीर संकटमा फसेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने बहुमतको निर्णय लिएपछि पार्टीभित्र ठूलो मतभेद उत्पन्न भएको छ । सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरूले यथास्थितिमा एकताको विपक्षमा उभिएपछि पार्टी फुटको नजिक पुगेको हो ।
केन्द्रीय कमिटी बैठकमा चर्को बहस
धुम्बाराहीमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा एकताको विषयले गर्दा तीव्र ध्रुवीकरण देखियो । पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाललगायतका नेताहरूले संख्या बढाउनका लागि मात्र एकता गर्न नहुने अडान लिए । उनीहरूको तर्क थियो कि पार्टीको सैद्धान्तिक र राजनीतिक औचित्य पुष्टि नगरी गरिने एकताले दीर्घकालमा नकारात्मक परिणाम निम्त्याउनेछ ।
बैठकमा कुल १२३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव), विप्लव नेतृत्वको नेकपाबाट फुटेको चरन पुन समूह, प्रेमबहाुर सिंह समूह, नेकपा समाजवादी (राजु कार्की) र जनसमाजवादी पार्टी नेपाल (सुभाषराज काफ्ले) बीच एकताको गृहकार्य भइरहेको जानकारी गराएका थिए ।
यद्यपि, बहुमत सदस्यहरू एकताको पक्षमा देखिए पनि खनाल र भूसालले आफ्नो अडानमा कुनै सम्झौता गरेनन् । अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो प्रतिवेदन पारित गराउँदै असहमतिलाई बेवास्ता गरे । उनले एकता प्रक्रिया सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार अगाडि बढेको र यसलाई रोक्न नसकिने बताए ।
माइक बन्द र पार्टी विभाजनको घोषणा
बैठकको अन्तिम क्षणमा झलनाथ खनालले एकताको निर्णय नमान्ने अडान दोहोर्याउँदै ‘हाहा हुहुले हुँदैन, मैले ३० बुँदाको दस्तावेज राखेको छु’ भन्दै गर्दा उनको माइक काटियो र बैठक समाप्त भयो । यसले खनाल पक्षमा थप आक्रोश पैदा गर्यो ।
खनालले बैठकमा आफ्नी उपचाररत पत्नीलाई दिल्लीमै छोडेर आएको बताउँदै माधव नेपाललाई पार्टी फुटाएर माओवादीमा नमिलाउन आग्रह गरेका थिए । तर, उनको आग्रहलाई अध्यक्ष नेपालले बेवास्ता गर्दै अगाडि बढेपछि खनालले पार्टी विभाजनको सन्देश सार्वजनिक गरेका छन् । उनले ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो, पार्टीलाई बिसर्जन गरियो’ भन्दै पार्टी पुनर्गठनका लागि नेताहरूसँग छलफल गर्ने र कानुनी प्रक्रियामा जाने बताएका छन् ।
पार्टी उपाध्यक्ष जयन्ती राईले पनि ‘हामी एकताबद्ध नै हुनुपर्थ्यो । तर आज बहुमतले निर्णय गर्नुपर्ने पर्यो, पार्टी विभाजित हुनु हुन्थेन । त्यही परिस्थिति बन्यो’ भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
पुरानै अन्तरसंघर्षको पुनरावृत्ति
एकीकृत समाजवादीभित्रको यो मतभेद कुनै नयाँ विषय होइन । पार्टी गठनकालदेखि नै माधव नेपाल र झलनाथ खनालबीच संगठनात्मक, सैद्धान्तिक र राजनीतिक रूपमै मतभेद रहँदै आएको थियो । खनाल पक्ष समाजवादी क्रान्तिलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा थियो भने नेपाल पक्ष ‘जनताको बहुदलीय जनवाद (जबज)’ छोड्न नहुने अडानमा थियो । यसैकारण पार्टीले लामो समय सैद्धान्तिक रूपमा आफूलाई स्पष्ट पार्न सकेन ।
राजनीतिक रूपमा पनि नेपालले माओवादी र कांग्रेससहितका दलहरूसँग सहकार्य चाहेका थिए भने खनाल पक्ष एमालेसहितको वाम सहकार्यको वकालत गर्थ्यो । संगठनात्मक अन्तरसंघर्ष त युवा र विद्यार्थी संगठनमा समानान्तर कमिटीसम्म पुगेको थियो । घनश्याम भूसालको समर्थन पनि खनाल पक्षमै देखिनुले यो अन्तरसंघर्ष थप बलियो बनेको थियो ।
गत वर्षको दशौं महाधिवेशनमा भूसालले नेतृत्वकै दाबी गरेका थिए भने माधव नेपालसँग मिलेका खनालले लगत्तै आफ्नो अडान कायमै राखेका थिए । माधव नेपालले अपानिबाटै खनाल पक्षका कृष्णकुमार विश्वकर्मालाई युवा संघको अध्यक्ष र आरती लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि झलनाथ खनालले सार्वजनिक रूपमै चेतावनीसहित अडान लिएका थिए ।
एकतामा नजाने नेताहरूको संख्या
माओवादीसहितका दलहरूसँग एकता गर्ने माधव नेपालको निर्णयलाई अस्वीकार गर्ने नेताहरूको संख्या ठूलै रहेको खनाल पक्षले दाबी गरेको छ । खनाल निकट एक नेताका अनुसार, केन्द्रीय कमिटीमा करिब डेढ सय जना ‘यथास्थितिमा माओवादीसँग मिल्न हुन्न’ भन्ने पक्षमा छन् । यद्यपि, बहुमत माधव नेपालसँगै हुने कुरा उनीहरू स्वीकार्छन् । ‘पहिले पनि बहुमतमै हुनुहुन्थ्यो । अझ यही बैठकमा ८० जना थप्नुभएको छ, संख्याको के कुरा भयो र ?’ ती नेता भन्छन् ।
खनाल, घनेन्द्र बस्नेत, घनश्याम भूसालसहित डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, वंशीधर मिश्र, अमरबहादुर थापा, किसान श्रेष्ठ, दामोदर अर्याल, अशेष घिमिरे, आरती लामा, हिरेन्द्र शाही, अर्जुन राई, धर्मराज निरौला, विजय चौधरी, केदारप्रसाद सञ्जेल, प्रेमल खनाल, शंकर पोखरेल, शेरबहादुर केसी, केशरी रेग्मी, शिव भण्डारी, अब्दुल हुसेन खाँ, प्रभा बज्राचार्य लगायतका नेताहरूले स्पष्ट रूपमा पुनर्गठनको अडान लिएका छन् ।
यो पक्षको भनाइअनुसार, जनप्रतिनिधि रहेका कतिपय नेताहरूले कानुनी जटिलताका कारण खुलेर बोल्न नसके पनि उनीहरू पार्टी पुनर्गठनको पक्षमा छन् । ‘प्रष्ट सैद्धान्तिक खाका सार्वजनिक नगरी भीड जम्मा गर्न एकता भनिँदैछ,’ एक नेता भन्छन्, ‘जेनजी विद्रोहपछि हामी सबैभन्दा धेरै प्रष्ट हुनुपर्ने भनेकै सैद्धान्तिक कुरामा हो ।’
अर्कोतर्फ, उपाध्यक्ष जयन्ती राईले एकतालाई वाम एकताको आधारका रूपमा हेर्नुपर्ने र यसले भोलि एमालेसम्म एकता गर्ने जग बनाउने तर्क गरेकी छन् । उनले पार्टी विभाजन नगर्न आग्रह गर्दै अहिले पनि समय रहेको बताएकी छन् ।
अध्यक्ष माधव नेपालको बहुमतको निर्णय र झलनाथ खनाल पक्षको सशक्त असहमतिले एकीकृत समाजवादी पार्टी यतिखेर गम्भीर मोडमा उभिएको छ । यसले पार्टीलाई विभाजनको संघारमा पुर्याएको छ भने नेपालको वाम एकताको प्रयास आफैँमा चुनौतीपूर्ण बनेको छ ।








