महानगरले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रण र रेबिज रोग उन्मूलनका लागि बन्ध्याकरण कार्यक्रमलाई तीव्रता दिएको छ । महानगरभित्रका ३२ वडामा यो कार्यक्रम सञ्चालन गर्न पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका यी संस्थाहरूलाई वडा विभाजन गरी कार्यदेश दिइएको छ ।
महानगरले आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यका लागि इच्छुक संघसंस्थाबाट गत असोज २२ गते आवेदन आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत छनोट भएका पाँचवटा संघसंस्थाहरूले अहिले बन्ध्याकरण कार्य सुरु गरेका छन्, जसमा विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बन्ध्याकरण कार्य व्यावसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन पनि दिए ।
सम्झौताअनुसार संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिरसहितको प्रतिवेदन महानगरमा पेस गर्नुपर्नेछ । आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्ने व्यवस्था छ ।
कार्यक्रममा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न कडा शर्तहरू पनि राखिएको छ । यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दाबी प्रमाणित भएमा सो संघसंस्थालाई प्रति जनावर एक लाख रुपैयाँ जरिवाना गरिनेछ । साथै, सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्नेसम्मको व्यवस्था गरिएको छ । यो सम्झौता २०८३ साल असार २० सम्म कायम रहनेछ ।
महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ७० वटा बन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । महानगरले वर्षैपिच्छे सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।








