निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिबद्ध छ, सहाकार्य गरौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सबै पक्षसँग सहकार्यका लागि आह्वान गरेकी छन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाली जनतालाई भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न दिने सरकारको प्रतिबद्धता दोहोर्याएकी हुन् ।
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको बताइन् । उनले भनिन्, ‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ ।’
उनले यस ऐतिहासिक कार्यमा सबै राजनीतिक दल, वर्ग र समूहबाट साथ र सहयोगको अपेक्षा राखेको समेत उल्लेख गरिन् । प्रधानमन्त्रीले राष्ट्रिय विभूति शंखधर साख्वा:ले प्रदर्शन गरेको सामाजिक एकता, त्याग र मानवीयताको मार्गमा हिँड्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरिन् ।
उनले ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शंखधरले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी जनतालाई ऋणको भारबाट मुक्त गरेको ऐतिहासिक निर्णयको स्मरण गराइन् । ‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले थपिन् ।
शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने वि.सं. २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत्लाई राष्ट्रिय संवतका रूपमा मान्यता दिइएको थियो । ‘यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।








