निर्वाचन निष्पक्ष हुनेमा शंका छ: देव गुरुङ

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए । सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनीतिक दलहरूको विरुद्धमा लागिरहेको पनि जिकिर गरे ।
सरकाले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिविधि अगाडी बढाएको उनको भनाई छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।
उनले भने ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । र निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो । सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ । त्यसकारणले गर्दाखेरि सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भूमिका निर्वाह गर्नुपर्छ । सरकारले दलहरूसँग पनि सबैसँग संवाद गर्दै सबैलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनपर्छ । अहिलेसम्मको स्थिति हेर्दाखेरि सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन । यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ । तरपनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ । राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिसोधको भावनासहित जसरी सरकारको काम कारबाही अगाडी बढिरहेको छ । त्यसले निष्पक्ष, स्वतन्त्र ढङ्गबाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ । दलहरूको विरुदमा प्रतिसोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका सरकारले जुन काम कारबाही गरिरहेको छ, त्यसले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्छ भन्नेमा शंका पैदा भएको छ ।’
उनले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरे ।








