शनिबार रोकिएको एमाले सचिवालय बैठक बस्दै, महत्त्वपूर्ण निर्णयको अपेक्षा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, गुण्डुमा बस्दैछ । यसअघि शुक्रबार सुरु भई शनिबारका लागि तय भएको बैठक अध्यक्ष ओलीको स्वास्थ्यका कारण स्थगित भई आजका लागि सारिएको हो ।
पार्टीका लागि महत्त्वपूर्ण मानिएको यो बैठकमा विभिन्न समसामयिक राजनीतिक मुद्दा तथा आन्तरिक सांगठनिक विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ । शुक्रबारको बैठकमा भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी आन्दोलन’ को विस्तृत समीक्षा र पार्टीको आगामी महाधिवेशन लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा सचिवालय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । यस क्रममा उठेका विषयवस्तु र प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्नेतर्फ बैठक केन्द्रित हुनेछ । विशेषगरी, जेनजी आन्दोलनले पारेको प्रभाव, युवा पंक्तिलाई परिचालन गर्ने भावी योजना र महाधिवेशनको तयारी लगायतका विषयमा महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना छ ।








