लुटपाट, आगजनी र तोडफोडको आरोपमा पक्राउ परेका करिब २५० जना रिहा

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका राष्ट्रिय सम्पदामा तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् ।

महानगरीय प्रहरी कार्यालय मातहतका विभिन्न युनिटबाट पक्राउ परेका उनीहरूलाई गृह मन्त्रालयको निर्देशनमा दशैंअघि नै रिहा गरिएको हो ।

गृह मन्त्रालयले घटनाबारे अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन नआएसम्म धरपकड नगर्न निर्देशन दिएपछि उनीहरूलाई बयान लिएर रिहा गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकाहरूको बयान लिएर छाडिएको हो ।

धेरैले आफूहरू हुलमुलमा परेकाले अनजानमा घटनामा मुछिएको जिकिर गरेका छन् । तर प्रहरीले उनीहरू सबैको बयान तथा प्रमाण संकलन गरिसकेको र अनुसन्धान प्रक्रिया यथावत् रहेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या, हातहतियार लुटपाट, अग्निसंलग्नता जस्ता गम्भीर अपराधमा संलग्नहरू भने हिरासतमै छन् । उनीहरूलाई अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै अगाडि बढाइने जनाइएको छ ।

पक्राउ परेकाहरूका बारेमा भिडिओ फुटेज, तस्बिर र प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले पहिचान गरेको थियो । उनीहरूलाई अहिले हाजिरीमा रिहा गरिएको भए पनि दोषी ठहर भएमा उन्मुक्ति नहुने प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =