शिक्षामन्त्री पुनसँग जेनजी आन्दोलनका घाइतेले भने- ‘हामीले देशका लागि रगत बगाएका हौँ, माग पूरा हुनुपर्छ’

काठमाडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।

शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए ।

उनले घाइतेहरूले आफ्ना मागहरू पूरा हुनुपर्नेमा चिन्ता व्यक्त गरेको बताए । आफूहरू देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरूले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ ? भन्नै चिन्ता घाइतेहरूमा रहेको पाएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनैपनि बेला फरक स्थिति बनिदिने जिकिर गरे ।

उनले भने ‘बिरामीहरूको माग मुद्दाहरू नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौँ । हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्नेकुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । घाइतेको उपचार जारी छ । ट्रमा सेन्टरमा उपचाररत जेन जी घाइतेमध्ये १ जनामात्रै आइसियुमा रहेको र अरू खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =