वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।
शनिवार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाई थियो । उनले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिए ।
आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओली कहीँ भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिए ।
उनले भने ‘म अहिलेको जेन—जी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो । यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरू, मैले गरेका कामहरू प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । अरूको पनि ल्याओस् । उहाँहरूका पनि ल्याओस् । मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्याओस् । प्रकाशित गरोस् कुराहरू । कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डट छन् । ती कुराहरू बाहिर ल्याओस् । प्रहरीलाई दिएको निर्देशन रेकडेट छन् । बाहिर ल्याओस् । अरू क्षेत्रमा गरेका कामहरू रेकडेट छन् । बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्र्र्दैनौ । हामी कुनै छलफल छाम गर्दैनौँ । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौँ । हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो–पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको । शान्ति सुब्यवस्थत गर्ने कुराको, कानुनी राज्यको कुराको । हाम्रो नीति यही हो ।’
अध्यक्ष ओलीले एमालेले सधैँ सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याए ।








