जेनजी कोशी संयोजक उपार्जन चाम्लिङले गरे हिंसात्मक गतिविधिमा संलग्नताको खण्डन

काठमाडौं । जेन-जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् । हालै एक समाचारमाथि आपत्ति जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संलग्नताको खण्डन गरेका हुन् ।
शुक्रबार खबरहबबाट प्रकाशित ‘उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरेहका थिए जेन-जी का कोशी संयोजक’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चाम्लिङले जेन-जी आन्दोलनका क्रममा आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको र त्यस्ता कार्यमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट्याएका छन् ।
उनले उक्त समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पुर्याएको भन्दै समाचारको खण्डन गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई मौलिक हकका रूपमा सम्मानपूर्वक बाँच्ने अधिकार, स्वतन्त्रताको उपयोग गर्ने अधिकार र आफ्ना विचार अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको छ । तर यी अधिकार अरूको प्रतिष्ठा र मर्यादाको हनन गर्ने आधार बन्न सक्दैनन् ।’








