शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही : शिक्षामन्त्री पुन

काठमाडौं । संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडपर्वको मुखमा शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक जरुरी वक्तव्य जारी गर्दै मन्त्री पुनले आइतबारभित्रै शिक्षकहरूको रोकिएको तलब निकासा गर्न निर्देशन दिएका हुन् ।
दशैँ, तिहारजस्ता ठूला चाडपर्वहरू नजिकिएसँगै कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब निकासा नगरिदिएको भन्दै गुनासोहरू आइरहेका बेला मन्त्री पुनको यस्तो भनाइ आएको हो । उनले मन्त्रालयले शिक्षकहरूको तलब पहिले नै सम्बन्धित विद्यालयहरूमा पठाइसकेको स्पष्ट पारेका छन् ।
‘शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाइसकिएको छ,’ मन्त्री पुनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ ।’








