अब पार्टी रूपान्तरण जरुरी: माओवादी नेताहरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टी रूपान्तरण जरुरी रहेको बताएका छन् ।
बिहीबारदेखि काठमाडौँको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले यस्तो बताएका हुन् ।
उनीहरूले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताए । प्रष्टीकरणको कारणले राजनीतिक दलहरूप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताए ।
उनले प्रतिबद्धता गरेका कुराहरू व्यवहारतः लागू हुनुपर्ने बताए । जेनजी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रूपान्तरणको विकल्प नरहेको बताए ।
समाप्त हुने की रूपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताए । जनतालाई अनुभूति हुनेगरी रूपान्तरित भएको महसुस गराउने गरी अघि बढ्नुपर्ने बताए । भ्रष्टाचारीहरूलाई यथाशक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गर्नुपर्ने बताए ।
अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरूले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गरेको जानकारी दिए ।
पार्टीमा जटिलता र कमजोरीहरू रहेको र रूपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताए । पदाधिकारीहरूले आफ्नो जिम्मेवारीअनुसार जस—अपजस लिनुपर्ने प्रस्ताव आएको बताए ।
अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रूपमा भत्काउनुपर्ने बताए । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रूपान्तरण जरुरी रहेको बताए । मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गरे । मतदाता र मत पाउने पार्टीको सम्बन्ध टुटिसकेपछि भ्याकुम उत्पन्न भएको बताए ।
उनले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताए ।








