प्रचण्ड कार्यकारी नेतृत्वबाट अलगिन उपयुक्त : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी नेतृत्वबाट बिदा लिनुपर्ने प्रस्ताव सार्वजनिक रूपमा उठाएका छन् ।

बिहीबार प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा फरक मत प्रस्तुत गर्दै श्रेष्ठले हालको परिस्थितिमा मंसिरभित्र विशेष महाधिवेशन सम्भव नरहेको तर्क गर्दै, अध्यक्ष प्रचण्डले तत्काल कार्यकारी जिम्मेवारीबाट अलगिएर पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिनुपर्ने बताएका हुन् ।

श्रेष्ठले दुई महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्न असम्भव देखिएको उल्लेख गर्दै वैचारिक तयारी, सांगठानिक संरचना र निर्वाचनको दबाबबीच यो सम्भव नहुने स्पष्ट पारे ।

‘महाधिवेशनको उद्देश्य र पूर्वशर्तहरू पूरा नगरी हतारमा गरिएको अधिवेशन सार्थक हुँदैन,’ उनले भने, ‘अहिलेको प्राथमिकता भनेको निर्वाचन तय समयमा सम्पन्न गर्नु र पार्टीलाई चुनाव केन्द्रित बनाउनु हो ।’

उनका अनुसार वैचारिक दस्तावेज तयार पार्ने, त्यसलाई सबै तहमा अध्ययन गराउने, वडादेखि प्रदेशसम्मको अधिवेशनमार्फत प्रतिनिधि चयन गर्ने प्रक्रिया दुई महिनामा सम्पन्न हुन सम्भव छैन ।

श्रेष्ठले पार्टीभित्रको वैचारिक सांस्कृतिक स्तरको न्यूनता र गुटबन्दीजन्य छिनाझपटीले महाधिवेशन प्रक्रिया अझै जटिल बनाउने बताए । ‘पार्टी एकताबद्ध भएर चुनावमा जानुपर्ने बेला छ, तर गुटबन्दीले समस्या उत्पन्न गर्नेछ,’ उनले भने ।

उनले प्रचण्डकै पहलमा कार्यकारी पदबाट बिदा हुने निर्णय नेपाली कम्युनिष्ट आन्दोलनमै ऐतिहासिक कदम हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =